कर्णाली प्रहरीले ‘क्युआर कोड’ बाट उजुरी लिने, तीन तहमा वर्गीकरण

सुर्खेत : प्रदेश प्रहरी कार्यालयले ‘क्युआर कोड’ मार्फत उजुरी लिन थालेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतले मङ्गलवार पत्रकार सम्मेलन गरेर ‘क्युआर कोड’ मार्फत उजुरी लिने प्रक्रिया सुरु गरेको हो।
प्रदेश प्रहरी प्रमुख भिमप्रकाश ढकालले प्रहरी कार्यालयमा सहज उजुरीका लागि ‘क्युआर कोड’ सुविधाको सुरुवात गरेको बताए। उनले क्युआर कोडमार्फत प्रदेशको जुनसुकै प्रहरी कार्यालयमा उजुरी गर्न सकिने बताए।
‘कर्णालीका नागरिकमा सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन यो सेवा सुचारु गरिएको हो,’डिआइजी ढकालले भने।
कार्यक्रममा दिइएको जानकारी अनुसार प्रदेश प्रहरीले ‘क्युआर कोड’ मार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गर्नेछ। अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै ‘एक्सन’ लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण किसिमको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
उनका अनुसार दुई लाख २७ हजार ४ सय २४ नागरिकको घरमा स्टिकर टाँसी सकिएको छ। प्रदेश प्रहरीको तीन लाख ७१ हजार १२५ स्टिकर टाँस्ने योजना छ।
मंसिर ५, २०८० मंगलबार १५:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।