टोटनह्यामका दुई खेलाडीले रातो कार्ड पाएपछि चेल्सीको सहज जित, ज्याकसनको ह्याट्रिक

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हटस्परमाथि ४-१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ।
घरेलु मैदानमा टोटनह्यामले सुरुमै आग्रता लिए पनि पछि दुई जना खेलाडी रातो कार्डका कारण मैदान छाड्दा चेल्सीलाई फराकिलो नतिजा सुम्पिएको थियो।
डेजन कुलभेस्कीले छैटौं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए।
३२औं मिनेटमा टोटनह्यामका क्रिष्टियन ग्याब्रिएल रोमेरोले डीबक्सभित्र इन्जो फर्नान्डेजविरुद्ध खतरानाक फल गरेका थिए।
भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायताले रेफ्री मिचेल ओलीभरले उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाउँदा चेल्सीले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीलाई ३५औं मिनेटमा कोल प्लामरले गोलमा परिणत गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए।
३५औं मिनेटमा १० खेलाडीमा झरेको टोटनह्याम ५५औं मिनेटमा ९ खेलाडीमा झर्यो। रहिम स्टर्लिङलाई फल गरेपछि इनोमा उडिगीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए।
९ खेलाडीमा आएपछि टोटनह्याम पूरै दवावमा आयो र त्यसपछि थप ३ गोल ब्यहोर्यो।
७५औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा ९ मिनट थप गरिएकोमा चौथो मिनेटमा चौथो र सातौं मिनेटमा लगातार गोल गर्दै ज्याकसनले ह्याट्रिक पूरा गरे।
जितपछि चेल्सी १५ अंकका साथ दशौं स्थानमा उक्लिएको छ भने पराजित भएको टोटनह्याम शीर्ष स्थानमा उक्ल्ने मौका गुमाएको छ।
टोटनह्याम २६ अंकका साथ दोस्रो स्थानमा रहँदा २७ अंक रहेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ।
कात्तिक २१, २०८० मंगलबार ०८:३८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।