त्रिवि सेवा आयोगको कार्यालयमा नेविसंघ र समाजवादी युनियनको तालापछि प्राध्यापक तथा सहप्राध्यापकको अन्तरवार्ता स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आजको लागि तय गरेको प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता स्थगित गरिएको जानकारी दिएको छ।
आयोगले एक सुचना जारी गर्दै आज बिहानका लागि तय गरिएको हिन्दी र समाजशास्त्र विषयको प्राध्यापक तथा सहप्राध्यापक पदको अन्तर्वार्ता स्थगित गरिएको जानकारी दिएको हो।
नेविसंघ र नेपाल समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेका कारण अन्तर्वार्ता गर्न नसकिएको आयोगले निकालेको सुचनामा उल्लेख छ।
त्रिवि सेवा आयोगको कार्यालय, विज्ञान डीन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालयमा नेविसंघ र युनियनले असोज १८ गते बेलुकादेखि तालाबन्दी गरेको थियो।
सोही कारण आजका लागि निर्धारण गरिएको अन्तिम दिनको अन्तर्वार्ता स्थगित गरिएको सेवा आयोग कार्यालयका प्रमुख केदारनाथ ढकालले बताए।
तालाबन्दीका कारण दैनिक प्रशासनिक कार्यमा समेत अवरोध सिर्जना भएको उनको भनाई छ।
आयोगले २०७७/७८ मा प्राध्यापक, सहप्राध्यापक लगायत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो। ती मध्ये व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथिली विषयका प्राध्यापक र सहप्राध्यापक पदको अन्तर्वार्ता हुन बाँकी थियो।
आज रोकिएको अन्तरवार्ता अर्को सूचना जारी गरेपछि सञ्चालन गरिने बताइएको छ।
असोज १९, २०८० शुक्रबार १४:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।