सिक्किमको बाढीमा परेर १८ जनाको मृत्यु, २२ सेनाका जवानसहित ९८ जना बेपत्ता

सिक्किमको बाढीमा परेर १८ जनाको मृत्यु, २२ सेनाका जवानसहित ९८ जना बेपत्ता

एजेन्सी : सिक्किमको टिस्टा नदी बेसिनमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

पुल एक्कासी भत्किँदा धेरै मानिसहरू बगाएका छन्। सेना र एनडीआरएफ टोली बेपत्ता व्यक्तिहरूको खोजीमा व्यस्त छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार २२ सेनाका जवानसहित ९८ जना अझै बेपत्ता छन्।

राज्यका मुख्य सचिव वीबी पाठकले भने कि उत्तर सिक्किमको ल्होनाक तालमा बुधबार बिहान बादल फाटेर भारी वर्षा हुँदा बाढी आएको हो।

ज्यान गुमाउने १८ जनामध्ये चारजना सेनाका ‘सिपाही’ हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले सडकहरू ‘गम्भीर रूपमा’ क्षतिग्रस्त भएको र १४ वटा पुलहरू बगाएको बताएका छन्।

बाढीपीडितको उद्धारका लागि उद्धारकर्मी खटिरहेका छन्। सञ्चार प्रणाली अवरुद्ध भएको छ। जनताका लागि २५ वटा राहत शिविर स्थापना गरिएको छ।

सिक्किम सरकारले मनसुनका कारण नदीमा पानीको बहाव सुरु भइसकेको बताएको थियो।

माथिल्लो भागमा रहेको ल्होनाक तालमा धेरै भारी वर्षा हुँदा नदीमा पानीको सतह झन् बढ्न गएको र त्यसले धनजनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

असोज १९, २०८० शुक्रबार ०७:५९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।