निर्माता रिसाएको भन्दै विकास बोर्डले ‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’को बक्स अफिस रिपोर्ट लुकायो, निर्माणपक्षको आफ्नै दाबी
 
                    
                    
                    
                    काठमाडौँ : कुन फिल्मले कतिको व्यापार गर्यो भन्दै चलचित्र विकास बोर्डले फिल्मको दैनिक बक्स अफिस रेकर्ड सार्वजनिक गर्दै आएको थियो। तर नाङ्गो गाउँ र एक भगवत् र एक गीताको बक्स अफिस रिपोर्ट लुकाउन थाल्यो बोर्डले।
बोर्डले हरेक दिन बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा कुन फिल्मको निर्माण टिमले फिल्मको व्यापारबारे झुटो दाबी गरिरहेका छन् भन्ने पोल खुल्न थालेपछि निर्मातादेखि निर्देशकसम्म रिसाएका थिए। निर्माता रिसाए भन्दै बोर्डले अहिले बक्स अफिस रिपोर्ट लुकाएको हो। बक्स अफिस रिपोर्ट लुकाएपछि अहिले फिल्म निर्माण टिमले आफूखुसी व्यापारको दाबी गरिरहेका छन् सामाजिक सञ्जालमा।
आखिर यी दुवै फिल्मको बक्स अफिस रिपोर्ट किन सार्वजनिक नगरेको? बोर्डका सदस्य रवि अधिकारी अहिले तत्काल बक्स अफिस सार्वजनिक नगरिने निर्णय भएको दाबी गरे।
'अहिले फिल्मको बक्स अफिस तत्काल सार्वजनिक नगर्ने कुराकानी भएको छ। त्यस कारण कुन फिल्मले कुनले कति कमायो अहिले भन्न मिल्दैन’ उनले भने।
चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बक्स अफिसको सुधारको कार्य भइरहेकोले र नयाँ सिस्टममा अपडेट गर्नुपर्ने बताएकाले बक्स अफिस तत्काल सार्वजनिक नगरिएको दाबी गरे।
उनले भने,‘बक्स अफिसको रिजल्टमा निर्माताहरूको गुनासो आएपछि बोर्डले नयाँ सिस्टममा काम गर्न लागेकोले केही दिनमा नै यसको रिजल्ट सार्वजनिक गर्नेर्छौ। अहिले बोर्डले सुधारका कार्य गरिरहेको हुनाले बक्स अफिसको रिजल्ट सार्वजनिक नगरिएको हो।’
बोर्डले लुकाउँदा निर्माण टिमलाई सहज
बोर्डले आधिकारिक व्यापारको रिपोर्ट लुकाए पनि दुवै फिल्मको निर्माणमा संलग्नहरूले आफू अनुकूल रिपोर्ट सार्वजनिक गरिरहेका छन् सामाजिक सञ्जालमा।
गत भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको निर्माणपक्षले दाबी गरिरहेको सञ्जालमा। यसका निर्मातादेखि निर्देशकसम्मले फिल्मको कलेक्सन भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्।
निर्माणपक्षले बुधवारसम्मको व्यापारिक आँकडा ३ करोड ३५ लाख ग्रस कलेक्सन भएको दाबी गरिरहेको छ।
सोही दिन प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘एक भागवत एक गीता’(सामाजिक कथा)ले कति कमायो भन्ने विवरण सार्वजनिक भएको छैन। पहिलो हप्ताको तुलनामा दोस्रो हप्तामा फिल्मले पिकअप लिएको हलहरूको शोको विवरणले देखाए पनि निर्माण टिमले फिल्म राम्रो चलिरहेको बताएका छन् तर व्यापारको आँकडा भने भनेका छैनन्।
‘एक भागवत एक गीता’का वितरक गोविन्द शाहीले फिल्मको कमाई के कति भयो भन्नेबारे सबै डिटेल आई नसकेको बताए। उनले अहिले फिल्मको कलेक्सन भइरहेको र अडिटपछि मात्रै थाहा हुने उकेरालाई जानकारी दिए।
उनले भने,‘फिल्मले राम्रै कमाई गरिरहेको छ। फिल्मको अडिट गरेपछि मात्रै यति भयो भन्न सकिन्छ। अहिले नै अनुमानको भरमा कति कमाई गर्यो भन्न सकिँदैन। जे होस् फिल्मले राम्रै गरिराछ।’
असोज ७, २०८० आइतबार १९:४५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    