शेखरले बोलाएको गुट बैठकमा विश्वप्रकाश र प्रदीप अनुपस्थित

शेखरले बोलाएको गुट बैठकमा विश्वप्रकाश र प्रदीप अनुपस्थित
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डाँकेको पार्टीको इतर समूहको बैठक बालुवाटारमा जारी छ। 

पार्टीको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल भने अनुपस्थित भएका छन्।

बैठकले आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमितिमा एकजुट भएर प्रस्तुत हुने गरी रणनीति बनाउने योजना बनाएको छ।  

बैठकको निम्तो पाएका नेता प्रदीप पौडेल मंगलबार नै दुई दिने कार्यक्रममा सहभागी हुन चीन जानुपर्ने भएका कारण पार्टीमा सहभागी नभएको बताइएको छ।

यस्तै, महामन्त्री शर्मा पनि पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि बोलाइएको गुट बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्।

मंगलबार बिहान सामाजिक सञ्चालमा एक पोस्ट राख्दै उनले पार्टी बैठकअगाडि बस्ने गुट बैठकमा जाँदा गलत सन्देश जाने उल्लेख गरेका थिए।

शर्मा कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्।

पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्। 

यो बैठकमा इतर समूहका सबै नेतालाई निम्तो दिइएको छ। यो बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ।

असोज २, २०८० मंगलबार १४:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।