के-के हुँदैछ आज : कोशीमा विश्वासको मतदेखि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइसम्म

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। साउन १६ गते पुनः नियुक्त भएका उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।
उपसभामुखले सञ्चालन गर्नुपर्ने प्रदेशसभा उनैले बिरामी बिदा लिएपछि अध्यक्ष मण्डलका सदस्यले सञ्चालन गर्नेछन्। सभामुख र उप सभामुखको अनुपस्थितिमा बैठक अध्यक्ष मण्डलका सदस्यले सञ्चालन गर्नेछन्।
सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्माइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्।
तर, विष्ट र सुब्बाले पनि घरायाशी काम परेको भन्दै बिदा बसेपछि अब संसद् मन्सुरीले सञ्चालन गर्नेछन्। उनले सभा सञ्चालन गरेका विश्वासको मत दिन पाउने छैनन्। यसो हुँदा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसक्ने स्थिति देखिन्छ।
आजै प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुँदैछ।
सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ गर्नेछ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो।
उजुरी आह्वान गर्दा श्रेष्ठविरुद्ध तीनवटा मात्र उजुरी परेको छ।
त्यस्तै, आज नै प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाइएको सर्वदलीय बैठक पनि बस्दैछ। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न आइतबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो।
आइतबार भएको छलफलमा विभिन्न विकल्पका बारेमा कुराकानी भएपनि सहमति हुन सकेको थिएन। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजेका लागि बोलाइएको छ।
आजै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।
सर्वोच्च अदालतले निर्णयतकर्ता सबैलाई अनुसन्धानको दायरमा ल्याउन निर्देशन दिए पनि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको भने बयानसमेत लिएन।
भदौ ४, २०८० सोमबार ०७:४६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।