नेपालीको भान्सामा महँगिएको टमाटर भारत निकासी हुन थाल्यो

बुटवल : नेपाली बजारमा टमाटरको भाउ प्रतिकिलो दुई सय नाघिसक्यो। डेढ महिना अघिसम्म ४० रुपैयाँ प्रतिकिलो रहेको टमाटरको मूल्य दुई सय नाघिसक्यो।
यता नेपाली भान्सामा टमाटर महँगो हुँदै गर्दा नेपालबाट भारततर्फ धमाधम टमाटर निकासी हुन थालेको छ। रुपन्देहीको भैरहवा नाकाबाट नेपाली टमाटर भारततर्फ निकासी हुन थालेको छ।
भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी युवराज भट्टराइका अनुसार भारतमा टमाटरको अभाव सुरु भएसँगै भारतले नेपालबाट टमाटर निकासी खुल्ला गरेपछि नेपाली टमाटर भारततर्फ जान थालेको बताए।
उनका अनुसार आइतबारसम्म ७ हजार २ सय केजी टमाटर निकासी भइसकेको छ।
पहिला भारतले टमाटर ल्याउन प्रतिबन्ध लगाएको थियो। तर टमाटरको अभावमा भान्छा नै प्रभावित भएसँगै विरोध सुरु भयो। अनि भारत सरकारले प्रतिबन्ध खुलायो।
‘अहिले निकासी भएको छ। तर भारतमा टमाटरको उत्पादन बढेमा यहाँबाट निकासी हुन भने गाह्रो छ’ उनले भने।
उनले निकासी भएको टमाटर नेपाली क्वारेनटाइन कार्यालयबाट प्रमाणित गरेर पठाइएको बताए। नेपाली टमाटर भारततर्फ निकासी गर्दा रोग भए-नभएको, किरा भए-नभएको क्वारेनटाइनबाट प्रमाणित गर्नुपर्ने प्रावधान छ।
भैरहवामा रहेको डायमन्ड इन्टरनेसनलले भारत उत्तर प्रदेशको त्रिसागर फर्म प्रोड्युसर कम्पनी लिमिटेडलाई टमाटर निर्यात गरेको छ।
निकासी भएको टमाटर सल्यान कपुरकोटको हो। लामो समयपछि भारतले टमाटरमा प्रतिबन्ध खुलाए पनि नेपाली टमाटरले भारतमा प्रतिस्पर्धा गर्न भने गाह्रो छ।
नेपाली किसानहरूले २ रुपैयाँमा पनि खरिद नभएको भन्दै सडकमै टमाटर पोखिरहेको अवस्थामा भारतमा टमाटर निकासी हुनु सकारात्मक हो। तर यता नेपालमै भने भाउ नियन्त्रण हुन सकेको छैन।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष गोपाल भुसालले यस वर्ष भारतमा टमाटरको न्यून उत्पादन हुँदा नेपाली टमाटरले बजारमा मूल्य पाएको बताए।
अहिले नेपाली बजारमा पनि भारतीय टमाटरको बिक्री शून्य जस्तै रहेको उनले बताए।
भदौ ४, २०८० सोमबार ०७:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।