भ्याट दाखिलाको नियम परिवर्तन, करोडमाथिको कारोबारमा मासिक र कममा चौमासिक विवरण बुझाउनुपर्ने

भ्याट दाखिलाको नियम परिवर्तन, करोडमाथिको कारोबारमा मासिक र कममा चौमासिक विवरण बुझाउनुपर्ने

काठमाडौं : करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साबिकको व्यवस्थामा परिवर्तन भएको छ।

नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ।

‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भइ साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन्’ भन्ने व्यवस्था खारेज भएको विभागले जनाएको छ।

संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले यही साउनदेखि मासिकरूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ ।

त्यस्तै द्वैमासिक रूपमा भ्याट विवरण दाखिला गर्ने सुविधा नरहेकाले वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएका करदाताले मासिकरूपमा नै विवरण पेस गर्न भनिएको छ।

वार्षिक रूपमा एक करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले भने चौमासिक रूपमै आफ्नो कर विवरण बुझाउन पाउनेछन्।

साना करदातालाई सुविधा दिन मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ बमोजिम गएको आर्थिक वर्ष २०७९÷८० को भ्याट विवरण दाखिला गरी वार्षिक एक करोड रुपैयाँसम्मको कारोबार भएका करदाताको कर अवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

यसअघि मासिकरूपमा विवरण दाखिला गर्दै आएका यस्ता करदाताले २०८० साउनदेखि पहिलो चौमासिकको विवरण मङ्सिर २५ गतेसम्म, दोस्रो चौमासिकको चैत २५ गतेसम्म र तेस्रो चैमासिकको साउन २५ गतेसम्म बुझाइसक्नु पर्नेछ।

भदौ ३, २०८० आइतबार ११:१०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।