उकेरा टप फाइभ : जीवित भाइको मृत्युदर्ता गर्ने दाजुको हर्कतदेखि हेपाइले नडगमगाएका बाबुको दृढतासम्मको प्रसङ्ग
काठमाडौं : शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेले अन्तरपार्टी निर्देशन जारी गर्यो। जसमा निर्वाचनमा विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई आत्मालोचनासहित पार्टीको सदस्यता नविकरण गर्न अनुमति दिइयो भने पार्टीक कार्यक्रमका लागि बनाइएका पोस्टरमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबाहेकको तस्बिर राख्न नपाइने प्रावधान राखियो।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसहितको टोली अहिले झापामा पुग्यो। त्यहाँ दुई दिनको बीचमा आठ सभालाई उनले सम्बोधन गर्दैछन्। उनीसहित पार्टीका महामन्त्री र अन्य सांसद तथा नेताहरू पनि कार्यक्रममा सहभागी छन्।
अर्कोतर्फ जनता समाजवादी पार्टीले साउन २५ गते निर्वाचन आयोगमा अभिलेख गरिएको नयाँ विधान लागू गरेको छ। विधानमा ७० वर्षीय उमेर हदलाई हटाएर कार्यकालको सीमा राखिएको छ। पार्टीमा अब एउटै पदमा तेस्रोपटक उम्मेदवार हुन नपाइने भएको छ।
यस्तै, विवादित भारतीय बाबा धिरेन्द्र शास्त्री चौधरी फाउन्डेसनको आमन्त्रणमा शुक्रबार नेपाल झरे। पशुपति मन्दिरको समेत दर्शन गरेका शास्त्रीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नवलपरासीस्थित शाश्वत धाम जानेछन्।
त्यसैगरी, चर्चा र विवादमा रहेका डाइटिसियका रुपमा चिनिएका डा. दिलजान मन्सुरले हरेब बिरामीलाई सुझाव दिने गरेको किटो डाइट वैज्ञानिक सिद्धान्तविपरीत रहेको नेपाल मेडिकल काउन्सिलले ठहर गर्यो। उनलाई अन्तिम पटक सम्झाउने र आफ्नो क्लिनिकमा हरेक बिरामीलाई छुट्टाछुट्टै जाँचेर त्यहिअनुसारको प्रेस्क्रिप्सनको अभिलेख राख्नसमेत निर्देशन दियो।
अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार बिहान रुपन्देहीको तिलोत्तमामा जग्गा आफ्नो नाममा नामसारी गर्न एक दाजुले जीवितै रहेको भाइको झुटो मृत्यु दर्ता गराएको सम्बन्धी समाचार लेख्यो। समाचारमा दाजु इन्द्रकुमार कँडेलले भाइ बेदुरामको २०७८ भदौ २६ गते मृत्यु भएको भन्दै २०७८ असोज १५ गते तिलोत्तमा वडा नम्बर ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएको प्रसङ्ग छ।
पूरा समाचारः जग्गा नामसारी गर्न दाजुले नै जीवित भाइको मृत्यु दर्ता गरिदिएपछि...

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ मध्यमधार प्रकाशित गर्यो। मध्यमधारमा यसपटक बाबु धुमी राईको अनुभव समेट्यो। आफूलाई क्वेर भनेर चिनाउने राईले उकेरासँगको कुराकानीमा सानोमा दिदिहरूको लिपिस्टिकमा लोभिँदा सरको गाली खाएको प्रसङ्ग सम्झिए भने ‘छ्या कस्तो छोरीजस्तो’ भनेर आफूलाई घृणा गरेको विषयसमेत स्मरण गरे।
पूरा समाचारः मध्यमधारः परामर्शदाता बाबु, जसलाई ‘छ्या कस्तो छोरी जस्तो’ भन्नेहरूको केही मतलब लाग्दैन

साँझपख उकेराले नायक, गायक, गीतकार एवं संगीतकार यश कुमारका प्रिय दश सुर जान्यो। जसमा उनले आफूलाई मनपर्ने आफ्ना र अरुका गीतहरूको बारेमा चर्चा गरे।
पूरा समाचारः आक्रोशसँगै परिवर्तनका गीत रचेका यश कुमारका प्रिय १० सुरः ‘चोट के हो’ गीत सुन्दा अर्कै संसारमा पुग्छु

बेलुकी उकेराले ग्यालेक्सी टेलिभिजनका प्रमुख जीवी राई समूहले सञ्चालन गरेको पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध बचतकर्ताहरूले प्रहरीमा उजुरी दिएको समाचार छाप्यो। सहकारीमा रहेको बचत फिर्ता नभएको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।
पूरा समाचारः जीवी समूहको सूर्यदर्शन सहकारीका सञ्चालक फरार रहेको भन्दै प्रहरीले निकाल्यो सूचना, बचतकर्तालाई जाहेरी दिन आग्रह

यस्तै उकेराले नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब पुगेको समाचार पनि छाप्यो। नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो।
पूरा समाचारः नेपाल सरकारको ऋण २२ खर्ब, प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रूपैयाँ

भदौ १, २०८० शुक्रबार २२:१७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।