आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल

आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।

साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ।  यो लक्ष्यभन्दा १७.७७ प्रतिशतले कम हो।

भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। संकलन भने ३२ अर्ब ६६ करोड मात्र भएको छ।

गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि भए पनि साउन महिनाले सरकारले सहज अवस्थाको संकेत भने गरेको छैन।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।

पहिलो महिनामा ५ प्रतिशत हाराहारी मात्र संकलन भएको छ। सरकारले पहिलो महिनामा राजस्व र अन्य आम्दानीमार्फत कुल ८८ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ।

साउनमा आयकर १६ अर्ब ९ करोड रुपैयाँ संकलनको लक्ष्य रहेकोमा १३ अर्ब २६ करोड मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर १४ अर्ब संकलनको लक्ष्य रहेकोमा ११ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ।

भदौ १, २०८० शुक्रबार १७:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।