नेपाल सरकारको ऋण २२ खर्ब, प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रूपैयाँ

काठमाडौं : नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो। अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ।
तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७९/०८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ र २०७८/७९ मा २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ।
यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ।
यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ।
भदौ १, २०८० शुक्रबार १४:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।