गत आर्थिक वर्षको मूल्यवृद्धि ७.७४ प्रतिशत, खाद्यपदार्थ १०.७० प्रतिशतले बढ्यो

काठमाडौं : आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७.७४ प्रतिशत रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो।
गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको देखिएको हो। अघिल्लो आव यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो।
अघिल्लो आवको तुलनामा यस आवमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२, मरमसलाको १२.५०, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७०, सुर्तीजन्य पदार्थको ९.८८ र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत छ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५०, मनोरञ्जन तथा संस्कृतिको १०.१८, स्वास्थ्यको १०.०१, शिक्षाको ८.७९ र घरायसी उपयोगका वस्तुको ८.६५ प्रतिशत छ।
गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत छ। त्यसैगरी गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ। अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो।
गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५, तराईमा आठ, पहाडमा ७.५६ र हिमालमा ७.१२ प्रतिशत छ।
भदौ १, २०८० शुक्रबार १४:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।