वाणिज्य बैङ्कको नयाँ ब्याजदर : सात बैङ्क सबैभन्दा धेरै , स्टान्डर्ड चार्टडको सबैभन्दा कम

काठमाडौँ : वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याजदरको सूची सार्वजनिक गरेका छन्। अधिकांश बैङ्कहरूले ब्याजदर फेरबदल गरेका छन्।
भदौका लागि व्यक्तिगत मुद्दतीमा बैङ्कहरूले १०.८९६ प्रतिशतभन्दा बढी ब्याजदर तोकेनन्।
नियमानुसार अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाइन्छ।
सार्वजनिक सूची अनुसार सानिमा बैङ्क, कुमारी बैङ्क, ग्लोबल आईएमई बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्क, एनआईसी एसिया बैङ्क र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका छन्। यो सबैभन्दा धेरै ब्याजदर हो।
बैङ्कहरूको सूचना अनुसार तीन महिनाभन्दा बढी अवधिको लागि अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख छ।
एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर दिनेछन्।
लक्ष्मी सनराइज बैंकले १०.४० र नबिलले २ वर्षमाथिको अवधिमा १०.४९ प्रतिशतसम्म ब्याज दिने उल्लेख छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छ्रे बैङ्क, सिद्धार्थ बैङ्क, हिमालयन बैङ्क, एसबीआई बैङ्क, र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख छ।
स्टान्डर्ड चार्टड बैंकले सबैभन्दा एक वर्षमाथिको अवधिमा ८.९२ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ। यो सबैभन्दा कम ब्याजदर हो।
साउन ३२, २०८० बिहीबार १७:४९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।