डिजेलसँगै महँगियो भाडा, सार्वजनिक यातायातको पाँच प्रतिशतसम्म बढ्यो

डिजेलसँगै महँगियो भाडा, सार्वजनिक यातायातको पाँच प्रतिशतसम्म बढ्यो

काठमाडौँ : डिजेलको मूल्य बढे लगत्तै यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा दर समायोजन गरेको छ। 

मङ्गलवार डिजेलको मूल्य प्रतिलिटर २१ रुपैयाँले बढेको थियो। बुधवार विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाउँदै मूल्य समायोजन गरेको हो।

विभागका अनुसार नयाँ भाडा दर बुधवारदेखि नै लागू भएको छ। इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने सार्वजनिक यातायातको भाडा समायोजनको आधार रहेको छ।

विभागले बुधवार सार्वजनिक गरेको विवरण अनुसार यात्रुवाहक सवारीका साधनको भाडा दर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दर ६.८३ प्रतिशतले बढेको छ।

मङ्गलवार नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँबाट बढाएर १६५ रुपैयाँ कायम गरेको थियो।

साउन ३१, २०८० बुधबार १६:५०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।