एउटाले जे काम सुरु गर्‍यो त्यसैको नक्कल गर्दा समस्या : अर्थमन्त्री

एउटाले जे काम सुरु गर्‍यो त्यसैको नक्कल गर्दा समस्या : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ अवसर खोज्ने भन्दा पनि एक जनाले नयाँ कुरा जे सुरु गर्यो त्यसैको पछि लाग्ने स्वभावका कारण नयाँ क्षेत्रमा समेत समस्या भएको दाबी गरेका छन्।

‘हामीकहाँ एउटाले अवसर देख्यो, फाइदा उठायो भने म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्’ महतले भने ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ।’

उनले हरेक व्यक्ति केही न केही क्षमता लिएर जन्मेको हुने भन्दै सबैको सम्पूर्ण कुरामा क्षमता नहुने भएकाले पहिला आफ्नो क्षमता पहिचान गरेर नयाँ अवसर खोज्न सुझाव समेत दिए।

राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै अवसर रहेको तर त्यसलाई चिन्न सूक्ष्म आँखा चाहिने बताए।

विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरू मुक्त हुनुपर्नेमा जोड दिँदै उनले नेपालमा पनि अथाह अवसर रहेको र त्यसको उपयोग गर्न आग्रह गरे।

‘यहाँ अवसर खोज्ने हो भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ। विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुसी छैन’ मन्त्री डा. महतले भने, 'नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु।’

सूचना प्रविधिका कारण उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पुर्याउनेलगायतका समस्या नरहेको भन्दै उनले डिजिटल प्लेटफर्म उपयोग गरेर नेपालमै काम गर्न समेत आग्रह गरे।

'एउटा कुनामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ अहिले। शून्य लागतमा बेच्ने ठाउँमा जोडिन सकिन्छ। यो हाम्रा लागि अवसर हो’ उनले भने।

नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोजगारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकारात्मक कुरा गर्ने गरेको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको उनको आरोप थियो।

'सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै चल्छ। सकारात्मक कुराहरू यसरी सर्कुलेट हुँदैन,' मन्त्री. महतले भने 'अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गरौँ। पर्यटन उद्योग चलायमान बन्दै गएको छ। यसले धेरै अवसरहरू सिर्जना गर्छ। पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ।'

साउन ३१, २०८० बुधबार १५:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।