सुन तस्करीमा जोडिएका चिनिया नागरिकसँगको सम्बन्ध स्वीकार गरे महराले अनुसन्धानमा सघाउन तयार रहेको दाबी

दाङ : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँगको सम्बन्ध स्वीकार गरेका छन्।
पूर्व सभामुख रहेका महराले सुन तस्करीको नाइके देखिएका चिनिया नागरिक वाङसँग भेटघाट भएको र भन्सारमा अड्किएको भेप निकाल्न सहयोग मागेको स्वीकार गरेका हुन्।
प्रहरी अनुसन्धानमा उनी र तस्करीमा संलग्न दुई चिनिया नागरिकसँग २२ पटक फोनमा कुराकानी गरेको लिङ्क चार्ट निकालेको थियो। महराले टेलिफोनमा कुराकानी नभएको दाबी गरे।
दागंमा पत्रकारहरूसँगको कुराकानीमा उनले वाङले भेटेरै एक जना साथीको इलेकट्रोनिक्स चुरोट भन्सारमा रोकिएको भन्दै सो इलेक्ट्रिक चुरोट भन्सारबाट निकालिदिन आग्रह गरेको बताए।
यस अगाडि भन्सारका कर्मचारीको बयानमा उनको छोरा राहुलले भेपबारे चासो राखेको खुलेको थियो। मङ्गलवार महराले सुन लुकाएर ल्याएको भेपबारे भन्सारका साथीहरूसँग कुराकानी गरेर कानुन अनुसार हेरेर मात्र काम गर्न भनेको दाबी गरे।
उनले यस प्रकरणमा आफ्नो संलग्नता यति नै भए पनि सञ्चारमाध्यममा भने बढाइचढाई तस्करी नै गराएको जसरी समाचार आएको भन्दै खण्डन गरेका थिए।
उनले आफू सधैँ अनुसन्धानका लागि तयार रहेको र बयान दिन राजी रहेको बताए पनि कसैले बयानका लागि नबोलाएको बताएका थिए।
'अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’ उनले भने।
साउन ३०, २०८० मंगलबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।