‘ब्रेक सु’ बाट छुट्याइएको ६० किलो सुन आज गालिंदै, गालेपछि सुन अझै घट्न सक्ने
 
                    
                    
                    
                    काठमाडौं : मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने बताइएको छ। यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो।
यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए। त्यसका लागि केही दिन लाग्ने र त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको छ।
साउन ३०, २०८० मंगलबार १०:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    