बाढीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुलमा क्षति, विद्यार्थी स्कुल जान पाएनन्
 
                    
                    
                    
                    मलेखु : त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थी समस्यामा परेका छन्।
किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन्।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी झोलुङ्गे पुलबाट आउजाउ रोकिंदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन्। ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवन लगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ।
यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिए। पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका बासिन्दालाई समस्या भएको छ।
बाढीले पुलमा क्षति पुगेपछि दैनिक रूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ। पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन्।
साउन ३०, २०८० मंगलबार ०९:३५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    