पोखरामा एकै दिन स्कुल जान हिंडेका तीन बालिका बेपत्ता, १० दिनसम्म भेटिएनन्
 
                    
                    
                    कास्की : पोखरामा घरबाट विद्यालय हिंडेका तीन बालिका एकै दिन बेपत्ता भएका छन्। गत साउन १९ गते विद्यालय जान्छु भनी हिंडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन्।
पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन्। तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिंडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन्। हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए।
आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन्। राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ।
 
परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए। प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिंडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।
साउन ३०, २०८० मंगलबार ०९:२१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    