भारतको धौलीगङ्गा बाँध फेरि खोलिँदै, सतर्कता अपनाउन आग्रह
 
                    
                    
                    
                    बैतडी : भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध फेरि खोलिने भएको छ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगङ्गाको बाँधका ढोकाहरू खोलिने भएका हुन्।
भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको हो। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ। यसअघि भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो।
यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा दार्चुलामा अर्बौंको क्षति भएको थियो। पछिल्लो समय परियोजनाका ढोका खोल्दा नेपाली प्रशासनलाई पनि पूर्वजानकारी दिने गरेको छ।
साउन २९, २०८० सोमबार २१:५७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    