सङ्खुवासभा घटनामा जेलरविरुद्ध पक्राउ पुर्जी, असई चौधरी पक्राउ
 
                    
                    
                    
                    काठमाडौँ : जेलभित्रै २ जना कैदीको मृत्युको घटनाको अनुसन्धानकोक्रममा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
साउन २४ गते बिहान जिल्ला कारागार सङ्खुवासभामा रहेका विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला अदालत सङ्खुवासभाले दुवै जनाको नाममा पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले चौधरीलाई पक्राउ गरीसकेको छ। अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। जेलर अधिकारी भने पक्राउ परेका छैनन्।
मादी नगरपालिका वडा नं. ५ का विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका वडा नं. ७ का आकाश बलामीको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानकोक्रममा सिसिटिभी फुटेजमा दुवै जनालाई कुटपिट गरेको दृश्य देखिएपछि पीडित परिवारले हत्या भएको भन्दै किटानी जाहेरी दिएका थिए।
साउन २८, २०८० आइतबार २१:५२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    