सांसद विनोद चौधरीले पूरा गरे निर्वाचनको वाचा, सिजी पोलिटेक्निकबाट नवलपरासीका ७३ युवाले पुरा गरे प्राविधिक तालिम

सांसद विनोद चौधरीले पूरा गरे निर्वाचनको वाचा, सिजी पोलिटेक्निकबाट नवलपरासीका ७३ युवाले पुरा गरे प्राविधिक तालिम

बर्दघाट : सिजी पोलिटेक्निकलबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन्। ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम सम्पन्न गरेका हुन्। प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरूले ६ महिने तालिम पुरा गरेका हुन्।

नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका थिए। सो पोलिटेक्निक नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको छ।

उनले निर्वाचनका बेला युवाहरूलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। चुनावी प्रतिबद्धता अनुसार उनले निर्वाचित भए लगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका थिए।

काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले युवाहरूलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। नेता चौधरीले प्राविधिक शिक्षाले युवाहरूलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए।

शुक्रवार नवलपरासीको प्रतापपुर गाउँपालिकामा सिजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरू सीमित छन्। युवाहरूले सहजै रोजगारी पाइरहेका छैनन्। त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ। प्राविधिक शिक्षा भयो भने युवाहरू आफै स्वरोजगारीमूलक काम गर्न सक्छन्।’

उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरूले विदेशमा पनि राम्रो काम पाउने बताए। ‘सरकारको प्राथमिकता देशभित्रै युवाहरूलाई रोजगारी दिने हुनुपर्छ।

युवाहरूलाई उद्यमशीलतासँग जोड्नु प्राविधिक शिक्षा बढी प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशमा अवसर नपाएपछि युवाहरू बिदेसिनुपर्ने बाध्यता छ। त्यसका लागि प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति पठाउन सकियो भने हाम्रा भाईबहिनीहरुले पनि राम्रो काम पाउँछन्। सेवा सुविधा पनि राम्रो हुन्छ।’

कार्यक्रममा प्रदेश सांसद  देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरूलाई रोजगारी पाउन सहज हुने विश्वास व्यक्त गरेका थिए।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरू लाभान्वित भएको बताए।सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिएका थिए। दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सिजी पोलिटेक्निकले जनाएको छ।

साउन २७, २०८० शनिबार १०:४५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।