४८ करोडसम्म पर्ने नागरिकको मूल्यवान पत्थरमा राज्यको वक्रदृष्टि, पुस्तैनी सम्पत्ति हडप्दै प्रशासन

४८ करोडसम्म पर्ने नागरिकको मूल्यवान पत्थरमा राज्यको वक्रदृष्टि, पुस्तैनी सम्पत्ति हडप्दै प्रशासन

काठमाडौं : गोरखाको स्थानीयको घरमा फेला परेको चम्किलो पत्थर मूल्यवान क्वार्ज क्रिष्टल भएको पुष्टि भएसँगै राज्यले आफ्नै सम्पत्ति बनाउने तयारी गरेको छ।

गत असारमा एक स्थानीयले घरमा पूजा गरेर राखेको चम्किने पत्थर क्वार्ज क्रिष्टल भएको पुष्टि भएसँगै राज्यले आफ्नो बनाउने तयारी गरेको हो।

घरमा भीडभाड भएको भन्दै स्थानीय प्रहरीले ढुङ्गा नियन्त्रणमा लिएको थियो।

पछि खानी तथा भूगर्भ विभाग काठमाडौंबाट भूगर्भविदको टोली गएर परीक्षण गर्दै सो वस्तु क्वार्ज क्रिष्टल भएको प्रमाणित गरेको छ।

भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले टल्किने ढुङ्गा परीक्षण गरेर प्रमाणित गरेसँगै स्थानीय प्रशासन त्यसलाई राज्यकै सम्पत्ति बनाएर राख्ने रणनीतिमा लागेका छन्।

सो क्रिष्टल गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरमा थियो।

पुस्तौंदेखि कुलदेवताको रूपमा छोपेर राखिएको ढुङ्गा शाहीले चासो लागेर खोलेर हेर्दा चम्किएको देखेपछि फोटो खिचेर सामाजिक सन्जालमा राखे। उनको घरमा ढुङ्गा हेर्न आउनेको भीड लागेसँगै सूचना प्रहरीकोमा पुग्यो। असार १४ गते प्रहरीले ढुङ्गा कार्यालयमा लगेर राखेको थियो।

‘खानी तथा खनिज पदार्थ ऐन २०४२ अनुसार अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ कानूनी व्यवस्था देखाउँदै विभागले क्रिस्टल जफत गरेर आफ्नो संग्रहालयमा राख्न चाहेको छ।

स्थानीय प्रशासनले गोरखाको म्युजियममा राख्न खोजेको छ। तर, त्यसका धनीलाई क्षतिपुर्ति दिने वा कारबाही गर्ने निर्णय भएको देखिएन।

शाही परिवारले सो पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको खुलिसकेको छ। पत्थर कहाँबाट ल्याइएको हो एकीन हुने प्रमाण न परिवारसँग छ न प्रशासनसँग।

बजार मूल्य ४८ करोडसम्म 
क्वार्जको अन्तराष्ट्रिय बजारमा गुलाबी क्रिस्टल क्वार्जको मूल्य बढी रहेको देखिन्छ।

सेतो क्रिस्टल क्वार्जको मूल्य प्रतिकिलो पाँच हजार अमेरिकी डलरदेखि ७० हजारसम्ममा बिक्री हुने गरेको देखियो।

यसको साइज र कतिको पारदर्शी छ त्यसको आधारमा मूल्य तय हुने गरेको देखियो। गोरखामा फेला परेको क्रिस्टल पारदर्शी रहेको र यसको सिङ्गै तौल ५२ किलो रहेको पुष्टि भइसकेको छ।

यसको आधारमा यसको अन्तराष्ट्रिय मूल्य न्यूनतम २ लाख ६० हजार अमेरिकी डलरदेखि ३६ लाख ४० हजारसम्म पर्ने देखियो।

नेपाली रुपैयाँसँग अहिलेको सटही दर अनुसार हेर्दाबजार मूल्य अनुसार त्यसको मूल्य न्युनतम् ३ करोड ४३ लाख पर्ने देखिन्छ भने अधिकतम ४८ करोड रुपैयाँसम्म पर्ने देखिन्छ।

घरमा भीडभाड भएको बहानामा प्रहरीले सो पत्थर प्रहरी कार्यालयमा ल्याएर राखेको हो। हालसम्म शाही परिवारले न अवैध उत्खनन् गरेको पुष्टि भएको छ न त चोरी गरेको नै।

गोरखा प्रशासनले स्रोत नै नखुलाई सो क्रिस्टल राज्यको सम्पत्ति भएको दाबी गरिरहेको छ। जफत गर्ने कि क्षतिपूर्ति दिएर लिने प्रष्ट भएको देखिएन।

साउन २५, २०८० बिहीबार १७:०१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।