रोडिजका पुनको कथा : ६० लाख खर्च गराएपछि अस्पतालले भन्यो, ‘ममीलाई घर लैजाउनुस्’

रोडिजका पुनको कथा : ६० लाख खर्च गराएपछि अस्पतालले भन्यो, ‘ममीलाई घर लैजाउनुस्’

काठमाडौं : पाँचौं संस्करणको हिमालय रोडिज चलिरहेको छ।

सोमबार हिमालय टेलिभिजनबाट प्रसारित दोस्रो एपिसोडको पहिलो प्रतिस्पर्धीका रूपमा पोखराका राजेश पुन सहभागी भए। उनले कोभिड–१९ को समयमा भोगेको घटना सुनाउँदा जजहरू भावुक बनेका थिए।

विदेशका लागि पासपोर्ट पेश गर्न पोखराबाट काठमाडौं आएकै दिन भोलिबाट नेपाल बन्द गर्ने हल्ला चलेपछि उनी साँझ पोखरा नै फर्किए, त्यो पनि बाइकमा। आफू पोखरा पुग्दा आमालाई कोरानाले च्यापेको र सरकारी अस्पताल लगेको उनले सुनाए। तर, अस्पतालमा कुनै उपकरण नभएर निजी अस्पताल पठाउँदाको क्षण सम्झिए उनले।

भावुक हुँदै पुनले भने, ‘ममी कोभिड हुनु भएछ। पोखराकै नर्मल क्लिनिकमा। त्यहाँ लगेपछि त्यो क्लिनिकले त्यतिकै राखिदिएछ अनि उहाँहरूले सरकारी हस्पिटल रिफर गर्दिनुभयो। सरकारी हस्पिटल जाँदा उहाँको कन्डिसन सिरियस छ। यहाँ सामान नै पाउँदैन भन्नुभयो।’

उनको यो भनाइले जजलाई भावुक बनायो। कोही बोल्न सक्ने अवस्थामा नै देखिएनन्।

‘निजी हस्पिटलमा हुने सामान सरकारी हस्पिटलमा नहुने भन्ने हुन्छ? यसमा हाम्रै सरकारको गल्ती हो जस्तो लाग्छ,’ उनले भावुक हुँदै सरकारी अस्पतालको दुर्दशालाई औंल्याउँदै भने, ‘त्यस हस्पिटलको नर्स डाक्टर कसैलाई पनि दोष दिन्न। तर, त्यहाँको व्यवस्थापनको व्यहोरा देखेर छक्क परे।’

कोभिडले सिकिस्त परेकी आमालाई हस्पिटलमा भर्ना नहुँदै पहिला नै व्यवस्थापन पक्षले पैसा मागेको बताए।

‘यति पैसा डिपोजिट गर्नुस् भनेर बिरामी केही भएमा जिम्मेवारी छैनौँ भन्ने कन्ट्र्याक्ट गरायो,’ उनले भने, ‘ओके भनेर हामीले हस्पिटलमा राखेको २ महिनापछि चाहिँ उहाँहरूले अक्सिजनको व्यवस्था गर्नुहोस र तपाईंको ममीलाई घर लैजानुस् भन्नुभयो।’

जजले अनुपविक्रम शाहीले कति खर्च भयो त भनेर सोधे। अनुपको प्रश्नको जवाफ दिँदै पुनले भने, ‘६० लाख खर्च भयो।’

सबै जज छक्क परे र फेरि सोधेँ ,‘कति दिनमा ६० लाख।’

पुनले भने, ‘६० लाख। हस्पिटलमा राखुन्जेल त ममी ठिकै हुनुहुन्थ्यो। तर, घरमा लगेको एक हप्तामा बित्नुभयो।’

उनको भोगाइले जजका गहँ आँसुले भरियो। केही बेर त्यहाँको माहोल नै भावुक बन्यो। त्यसपछि पुनले सरकारसँग आक्रोश पोखे। गलत व्यक्ति चुनेर सरकारमा पठाउँदा आफूले आमा गुमाउनुपरेको पीडा उनले सुनाए।

‘यदि युवा र जोस जाँगर भएको व्यक्ति सरकारमा पठाउन पाएको भए आफ्नो ममि मात्र नभएर कसैको ज्यान जाँदैन थियो होला’, उनले भने।

रोडिजमा अनुप विक्रम शाही, दिया मास्के, प्रियंका कार्की र आशिष राना ‘लाहुरे’ जजको रूपमा छन्। 

साउन २३, २०८० मंगलबार २२:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।