१० वर्षको उमेरदेखि कान नसुनेर समाजबाट तिरस्कार, युट्यूबबाट सिलाई सिकेर सफल व्यवसायी

बुटवल : ‘सोचे झै जिन्दगी रहनेछ’, लोक तथा दोहोरी गायक खेम सेञ्चुरी र मधु क्षेत्रीले ३ वर्षअघि बजारमा ल्याएको गीत हो यो। यही गीतले भने जस्तै साँच्चै जिन्दगी सोचे झै कहाँ हुन्छ र?
शिक्षक बन्ने ठूलो रहर थियो, रूपन्देहीको सैनामैनाकी रेखा राना मगरको। तर उनको पनि जिन्दगी सोचे जस्तो भएन। रहर एउटा थियो तर भइदियो अर्कै।
१० वर्षको उमेरसम्म रेखा ठीक थिइन्। तर यसपछि उनले कान सुन्न छाडिन्। अहिले रेखा पूर्ण रूपमा ‘बहिरा’ व्यक्ति हुन्।
‘सुरुमा सबै ठीक थियो। १० वर्षको हुँदा कान दुख्यो। चेकजाँच गराउने क्रममै बिस्तारै आवाज कम हुँदै गएको हो,’ उनले विगत सम्झिन्।
१० वर्षको उमेरमा कान सुन्न छाडेकी रेखाको त्यसपछिका दिनहरु कम्ती संघर्षमा बितेनन्। सुनौलो संसार एकाएक उजाड बने जस्तो भयो।
‘जन्मकै अवस्थामा यस्तो भएको भए त्यति धेरै पीडा हुने थिएन होला,’ हातले सांकेतिक भाषामार्फत संवाद गर्दै भनिन्, ‘जब कान सुन्न कम हुँदै गयो। असैह्य पीडा भयो। अब जिन्दगी कसरी चलाउने भन्ने पीर बढ्यो।’
जब रेखाले कान सुन्न छाडिन त्यसपछि समाजले गर्ने तिरस्कार देखि नजिकका साथी र आफन्तजनले गर्ने व्यवहार प्रत्यक्ष देखिन्। बाल्यकालका साथीहरू पराई बने। हिजोसँगै उठबस गर्नेहरु रेखाको नजिकै पर्न छाडे।
तर रेखामा आत्मबल थियो। केही गर्छु भन्ने आफैंमा भरोसा पनि थियो। त्यसैले समाज र साथीहरुको व्यवहारबाट उनी विचलित भइनन्। बरु त्यही कुरालाई संघर्षको अर्को अध्याय भनेर बुझिन्।
सानो उमेरमा समाजको थिचोमिचोमा परेकी रेखा अहिले समाजमा एक उदाहरणीय व्यक्तित्व बनेर परिचित भएकी छन्। उनले कान नसुने पनि संघर्षबाट सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेस गरेकी छिन्।
अहिले घरपरिवार तथा अपाङ्गताको क्षेत्रमा काम गर्नेहरुले दिलाएको भरोसाले उनले समाजमा सफल व्यक्तिको पहिचान बनाएकी छन्। अहिले रेखा आफू मात्र उद्यमी नबनी अरुलाई रोजगारी दिने बाटोमा अघि बढेकी छिन्।
युट्यूब हेरेर सिलाई
बाहिरी समाजमा धेरै घुलमिल हुन नसकेपछि उनी घरमा एक्लै बस्ने गर्थिन्। तर उनले आफ्नो एक्लोपनको सारथि सिलाई कटाईलाई बनाइन्। उनले कसरी सिलाई गर्न सकिन्छ भनेर युट्यूबतिर हेर्न थालिन्।
‘घरमा पुरानो मेसिन लिएर पुरानो कपडा काटेर युट्यूबमा हेरेर सिलाई सिक्न थालें। जब सिलाईमा व्यस्त हुन थालें एक्लोपन कहिल्यै महसुस भएन,’ उनले भनिन्।
युट्यूब सिकेपछि उनलाई व्यावसायिक सिलाई कटाई तालिम लिने अवसर प्राप्त भयो। त्यसपछि भने रेखा घरमै ‘रेखा टेलरिङ सेन्टर’ स्थापना गरेर व्यवसायमा लागिन्।
‘आफूले व्यवसाय सुरु गरेपछि टाढा भएका आफन्त र साथीहरु पनि नजिक बन्न थाले। त्यसपछि मेहनत गरेपछि सबै आफ्ना हुन्छन् भन्ने पनि लाग्यो। अहिले सबै ठीकसँग चलेको छ,’ उनले भनिन्।
रेखा अपाङ्गता क्षेत्रका संस्थाहरूले दिएको सहयोग र आत्मबलले पनि व्यवसायमा होमिन प्रेरित गरेको बताउँछिन्।
केही वर्ष अगाडि उनले ‘द ल्याप्रोसी मिसन नेपाल’को फाउन्ड परियोजनामार्फत २३ हजार ५०० रुपैयाँ रकम प्राप्त गरेकी थिइन्। त्यसलाई उनले व्यवसायमा लगाइन्।
रेखा अहिले महिलाका सबै पोसाक सिलाउन सक्छिन्। त्यस बाहेक कपडाको माक्स, रुमाल, हाते झोला सहितका पोसाक बनाएर बिक्री समेत गर्छिन्।
रेखा अहिले टेलरिङ गरेर मासिक १५ देखि २० हजार सम्म कमाउँछिन्। कान नसुने पनि सांकेतिक भाषा र कापीमा लेखेर ग्राहकको चित्त बुझाउँछिन्।
रेखालाई स्थानीय तहबाट पनि सहयोग मिलेको छ। रुपन्देहीको सैनामैना नगरपालिकाले विभिन्न कुशन तथा डल बनाउने तालिम पनि प्रदान गरेको छ।
जब एक्कासि कान दुख्यो
१० वर्षसम्म ठीक रहेकी रेखा एक दिन अचानक विरामी परिन्। टाउको भारी भयो। ज्वरोले शिथिल बनायो। पहिलो पटक महिनावारी भएको बेला थियो। ज्वरोले गालेपछि अस्पताल लगियो।
चिकित्सकले उनको कानमा समेत समस्या भएको बताए। कानमा पिलो आए जस्तो भयो। तर उपचार सहज भएन।
अस्पतालहरु धाइरहँदा पनि कान ठीक भएन। विस्तार कानले ध्वनी लिन छाड्यो। अनि उनी बिस्तारै ‘बहिरोपना’ को सिकार बनिन्।
साउन २१, २०८० आइतबार १४:५०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।