ओलीको आरोप- ‘प्रचण्ड राष्ट्रहितमा बोल्दै बोलेनन्’

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ नभई सत्तास्वार्थमात्रै प्रधान भएको दाबी गरेका छन्।
पार्टीको विदेश विभागले गरेको कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा धेरै कमजोरी देखाएको आरोप लगाए। राष्ट्रहितमा प्रचण्ड बोल्न नसकेको उनको दाबी थियो।
ईपीजी प्रतिवेदन र नेपालको भूमिबारे प्रचण्डले भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै उनले भारत भ्रमणको बेलामा कुन–कुन सम्झौता भएको हो भन्ने समेत जानकारी नभएको बताए।
'दुई देशका बिचमा त्यत्रो सहमतिका साथ प्रबुद्ध व्यक्ति समूह बनाइयो। १९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरूका विविध पक्षहरूको अध्ययन गरेर नेपाल र भारतबिचको सम्बन्धलाई आजको समयानुकूल न्याय र समानतामा आधारित उचित सम्बन्ध, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने ?' ओलीले कार्यक्रममा भने' 'प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भएन।'
उनले नेपालको भूगोल र सीमाको बारेमा भारतले विवादित बनाउन खोजेको र त्यस सम्बन्धमा टुङ्गो लगाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डले नसकेको बताए।
एमाले सधैँ राष्ट्रिय हितको पक्षमा रहेको र सरकारले राष्ट्रिय हितको पक्षमा कुरा ल्याए एमाले सहयोग गर्न सधैँ तयार रहेको बताए। उनले अहिलेको अवस्थामा भारत र चीन दुबैसँग मित्रवत् सम्बन्ध राखेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको बताएका थिए।
साउन २०, २०८० शनिबार १६:२४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।