विराट र रोहितबिनाको भारतीय टोली वेस्ट इन्डिजसँग ६ विकेटले पराजित

विराट र रोहितबिनाको भारतीय टोली वेस्ट इन्डिजसँग ६ विकेटले पराजित

दोस्रो एकदिवसीयमा भारतीय टोली वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको छ। 

भारतको यो हारसँगै ३ खेलको एकदिवसीय शृङ्खला रोमाञ्चक मोडमा पुगेको छ। दुवै देशले १-१ श्रंखला जितेका छन्। 

भारत सन् २००६ पछि वेस्ट इन्डिजसँगको सिरिज गुमाउने खतरामा पुगेको छ। अर्थात् अब अगस्ट १ मा तारुबास्थित ब्रायन लारा एकेडेमीमा हुने खेलमा भारत जित्नैपर्ने दबाबमा हुनेछ। 

शनिबार भएको दोस्रो एकदिवसीय खेलमा भारतीय टोली नियमित कप्तान रोहित शर्मा र विराट कोहलीबिना मैदान उत्रिएको थियो। यस्तो अवस्थामा कप्तानको जिम्मेवारी हार्दिक पाण्ड्यालाई सुम्पिएको थियो तर रणनीति, ब्याटिङ र बलिङ तीनै मोर्चामा उनी असफल साबित भए। 

बार्बाडोसको केनिङ्टन ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीको ब्याटिङ रोहित-कोहली बिना असहाय देखियो। शुभमन गिल र इशान किशनले टोलीलाई बलियो सुरुवात दिए पनि टोलीको मिडल र लोअर मिडल अर्डर नराम्ररी फ्लप भयो।

भारतले ४०.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। इसन किसनले ५५ रन बनाए भने शुभमन गिल ३४ रनमा क्याच आउट भए। 

त्यस्तै सन्जु सामसन १९ बलमा मात्र ९ रन बनाएर आउट हुँदा अक्षर पटेलले १ तथा कप्तान हार्दिक पाण्ड्याले मात्र ७ रन जोडे। त्यस्तै सूर्यकुमार यादव पनि २४ रनमै आउट भए। शार्दुल ठाकुरले १६ तथा कुलदीप यादवले मात्र ८ रनको योगदान दिए। 

वेस्ट इन्डिजलाई जिताउन साही होपले नटआउट ६३ तथा केसी कार्टलीले ४८ रन जोडे। 

साउन १४, २०८० आइतबार ०८:०९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।