गोरखा विकास बैंक डुबाउने अडुकिया जोडिए सुन तस्करीमा

काठमाडौं : गोरखा विकास बैंक डुबाउने खेलाडीमध्ये एक राकेश अडुकिया सुन तस्करीमा जोडिएका छन्।
बैंक सञ्चालकहरूसँगको मिलेमतोमा सर्वसाधारणको बचत रकम हिनामिना हुँदा उक्त बैंक डुबेको थियो।
सो प्रकरणमा अडुकियासमेत जोडिएका थिए। शेयर कारोबारसँगै अटो व्यापारमा समेत संलग्न अडुकियाको घरमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मरेपछि सुन तस्करीमा उनको नाम आएको हो।
कमलपोखरीमा रहेको उनको घरमा राजश्व अनुसन्धान विभागले छापा मार्नुको प्रयोजन खुलिसकेको छैन। विभागले औपचारिक रूपमा खुलाएको पनि छैन। तर अडुकिया भने फेला परेनन्।
अडुकिया भारतीय नागरिक हुन्। परिवारसहित नेपाल बस्दै आएका उनको परिवारको नाममा नेपाल रेमिटेन्स प्रालि र टेस्ला गाडीको नेपालका निम्ति आधिकारिक शोरुम रहेको छ।
भन्सारबाट जाँचपास भएर बाहिरिएको सय किलो सुन विभागले फेला पारेलगत्तै अडुकिया भारत भागेका दाबी आइरहेको छ।
विभागले सुन तस्करी प्रकरणमा १७ जनालाई पक्राउ गरेर राजश्व छलीमा अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा नेपालीसँगै चिनिया र भारतीय नागरिकसमेत छन्।
उनको समुहले बैंकबाट करोडौं ऋण लिएर विभिन्न ठाउँमा लगानी गरेको भेटिएको थियो। जसका कारण बैंकको ऋण नतिरेकोले बैंक डुबेको निष्कर्ष त्यति बेला निकालिएको थियो। राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि बैंकलाई टेकओभर गरेको थियो। पछि बैंक हालको गोर्खाज फाइनान्ससँग मर्ज भयो।
बैंकमा भएको घोटालाविरुद्ध बैंकका कार्यकारी तथा सञ्चालकविरुद्ध बैंकिङ कसुरअन्तर्गत १३ वटा अलग अलग मुद्दा दायर भएको थियो।
बैंकमा एक अर्ब ६२ करोड घोटाला भएको भन्दै एक सय २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमा पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले तत्कालीन कार्यकारी अध्यक्ष डिबी बम्जनलाई जेल र जरिवाना फैसला गरेको थियो भने अडुकियाले सफाइ पाएका थिए।
साउन ११, २०८० बिहीबार १६:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।