काकडभिट्टा नाकामा पनि लागू भयो सय रुपैयाँ बढीको सामानमा अनिवार्य भन्सारको नियम

मेचीनगर : काकडभिट्टामा रहेको पुर्वको प्रमुख नाका मेची भन्सार कार्यालयले पनि शुक्रबारदेखि १ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा अनिवार्य भन्सारको लाग्ने नियम लागू गरेको छ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको भए पनि काकडभिट्टा नाकामा शुक्रबारदेखि लागू भएको हो।
कार्यालयले जारी गरेको सूचनामा भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले १ सय रुपैयाँभन्दा बढीको सानमा ल्याएमा मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँचपास गराएर मात्र लैजान भनिएको छ।
जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने कार्यालयको चेतावनी छ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन। यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दाबी छ।
भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको हो।
यहि विषयमा शुक्रबार बसेको सर्वदलीय छलफलले नियमलाई अक्षरसः पालना गर्दै जाने निर्णय गरेको छ।
मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहकार्यमा बसेको सर्वदलीय छलफलले नियमलाई कडाइका साथ पालन गराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको हो।
साउन ५, २०८० शुक्रबार १७:२४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।