जी–२० सम्मेलन नेपालका तीन उपलब्धि : सहभागी हुनु, चीन र भारतको अर्थमन्त्री भेट्नु, गुजरातका व्यापारीसँग छलफल

जी–२० सम्मेलन नेपालका तीन उपलब्धि : सहभागी हुनु, चीन र भारतको अर्थमन्त्री भेट्नु, गुजरातका व्यापारीसँग छलफल

काठमाडौँ : भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरे।

सम्मेलनमा सहभागी भएर बुधवार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको दाबी गरे।

सम्मेलनमा तीन महत्त्वपूर्ण विषयमा छलफल भएको उनले बताए। जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाउनु, भारत र चिनियाँ अर्थमन्त्रीहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल हुनु, गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धिको रूपमा उल्लेख गरे।

‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेकाले कम विकसित देशहरूको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो। सोमबार र मङ्गलवार लगातार ५–६ वटा विषयमा छलफल भयो’ उनले भने।

सम्मेलनमा कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्याएको चुनौतीबारे छलफल भएको उनले बताए।

‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरू ठाउँबाट पनि सञ्चालन हुन्छ। त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल भयो’ उनले भने।

जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोरिरहेको र यसमा विकसित देशहरूले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा छलफल भएको उनले बताए।

साउन ३, २०८० बुधबार १९:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।