‘मोफसलको पत्रकारिता नेताको भाषण सार्ने र दुर्घटनामा लास गन्नेभन्दा माथि उठ्न सकेन’

‘मोफसलको पत्रकारिता नेताको भाषण सार्ने र दुर्घटनामा लास गन्नेभन्दा माथि उठ्न सकेन’

बझाङ जिल्लामा १० वर्षअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भयो।

समाचार जताततै छ्यापछ्याप्ती आउन थाले। बजेट १२ करोड खर्च भइसकेको थियो। पूर्ण साक्षर मान्न तोकिएको प्रतिशत पुगेको तत्कालीन जिल्ला शिक्षा अधिकारी जगग्नाथ उपाध्यायको तर्क थियो।

यही रिपोर्टिङ गर्न म २२ गाविस गएँ। त्यतिबेला बझाङमा ४७ गाविस थिए। यतिसम्म भेटियो कि सहयोगी शिक्षकले प्रौढ शिक्षाका किताब बोक्न अल्छी मानेर होटलमै छाड्दिँदा नामै लेख्न नजान्नेलाई समेत साक्षर बनाएको प्रमाण भेटियो। 

कागजमा साक्षर भएका अधिकांश बास्तवमा साक्षर थिएनन्। यसको समाचार खोजपत्रकारिता केन्द्रको सहयोगमा प्रकाशित भयो। यसको प्रभावले गर्दा तत्काल साक्षर जिल्ला घोषणा भएन। थप कामहरू भए। 

सुन्दा नराम्रो लाग्न सक्छ, खासगरी मोफसलको पत्रकारिता नेताको भाषण सार्ने र दुर्घटनामा कसैको ज्यान गयो भने लास गन्ने भन्दामाथि उठ्न सकेको छैन। तर अलिकति गहिरिएर खास कुरा के हो भनेर खोज्दै जाने हो भने अवस्था अर्कै भेटिन्छ।

जिल्लाका रिपोर्टरले समाचारका नाममा भाषण मात्रै पठाउँछन् भन्ने भाष्य हामी आफैंले परिवर्तन गर्ने हो। अनि केन्द्रमा बसेर ठूलै विपत्ति आयो भने फोन गरेर के भयो भनेर सोध्ने, तर संविधानमा लेखेको मौलिक हक त्यहाँका नागरिकले उपभोग गर्न पाएका छन् कि छैनन् भनेर ठ्याम्मै नसोध्ने। केन्द्रीकृत मिडियाको यो रवैया पनि फेर्नुपर्ने देख्छु म। 

सदुरमुकाम छाडे ‘स्टोरी’ भेटिन्छ

मैले पत्रकारिताको सुरुवात ६० साल देखि गरेँ। सैपाल एफएममा काम गरेँ। नेपाल प्रेस इन्टिच्युटले तालिम दिएपछि भने केही फरक गर्नुपर्ने रहेछ भन्ने सिकियो। त्यसपछि स्थानीय पत्रिकामा काम गर्न थालेँ। म आफैं संस्थापक अध्यक्ष भएर ‘साथी रैबार’ पाक्षिक म्यागेजिन पनि निकालियो।

बझाङका प्रत्येक इलाकामा रिपोर्टर थिए। प्रत्येक विद्यालय, उपभोक्ता समितिसम्म हाम्रो पत्रिका पुग्थ्यो। बझाङमा यो पत्रिका ३ हजार ५ सय प्रति बिक्री हुन्थ्यो। समाचार लेख्नेदेखि हकरसम्मको काम गरियो।

पछि राष्ट्रियस्तरको मिडियामा जोडिएपछि भने स्थानीय मिडियामा कमै काम गरियो। घटना भयो भने समाचार लेखिन्थ्यो, तर घटना नहुँदा पनि समाचार हुन्छ र जहिल्यै कुनै पनि घटनालाई फरक दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने कुरा खोजपत्रकारिता केन्द्रले धनगढीमा आयोजना गरेको तालिमबाट सिकेँ। 

सम्झना विकको बलात्कारपछि हत्या भयो। पत्रकार सम्मेलन भइरहेको थियो। झाडीजस्तो थियो अलि परतिर। त्यहाँ पीडकका बुबा र आमाले हेरिरहेका थिए। सबैको ध्यान प्रहरीले के भन्छन् भन्नेमा हुने नै भयो। मलाई लाग्यो पीडकको बुबाआमाले के सोचिरहेका होलान्। मैले अभियुक्तकी आमालाई सोधेँ, उनले भनिन्, ‘मेरा दसधारा दूध खड गया’ अर्थात् मेरो दशधारा दूध खेर गयो। समाचार कान्तिपुरमा छापियो। जहिले पनि समाचार फरक एंगलबाट सोच्नुपर्ने रहेछ भन्ने मलाई लागिरह्यो। 

हुन त कतिपयले जिल्लामा खासै समाचार के नै हुन्छ र पनि भन्छन् तर हामीले सदुरमुकामको घेराबन्दीबाट बाहिर निस्कन सक्यौँ भने समाचार भेटिन्छन्। सदुरमुकामबाट ५ दिन हिँडेर पुगिने स्थान सैपाल गाविस पुगेको थिएँ, कोभिडको समयमा। त्यो गाउँमा अधिकांश मान्छेको दृष्टि थिएन। मोतिबिन्दु र जलविन्दुका बिरामी थिए। राज्यले स्वास्थ्यमा सबैको पहुँच मौलिक हकमै राखेको छ, तर सामान्य उपचारपछि निको हुने रोगको पनि उनीहरूले उपचार पाइरहेका थिएनन्।

त्यतिबेला मैले अष्ट्रेलियाका पत्रकार अलि ग्रिपरले लेख्नुभएको सन्दुक रुइतको जीवनी पढेको थिएँ। आँखा नहुनुको पीडा त्यो किताबले खुलाएको थियो। त्यो गाउँमा गएपछि समाचार लेखियो। समाचारकै प्रभावस्वरुप ३ सय १४ जनाको शल्यक्रिया पनि भयो, तिलगंगा आँखा अस्पतालबाट। सहर छोडेर अलि पर पुग्यौँ भनेँ मौलिक हक नपाएर छटपटीमा परिरहेका नागरिक यत्रतत्र सर्वत्र भेटिन्छन्। 

नयाँ वर्षको दिन साथी अर्जुन शाह र म हुम्लाको ४ वटा पालिकामा घुम्न गयौँ। उखरमाउलो गर्मी थियो। एक महिलाले अगाडि बच्चा र पछाडि पिठ्युँमा पानी बोकेकी थिइन् भने अर्की बालिका पानी बोकेर कर्णालीको तिरैतिर गाउँ उक्लिरहेकी थिइन्। हामीले ती महिलालाई सधैं यहीँबाट पानी बोक्नुपर्ने हो भनेर सोध्यौँ। उनले भनिन्, ‘दैलोमै कर्नालीः पिऊँ भन्या पानी नाईं’। हामीले यो समाचार लेख्यौँ।

कतिले पत्रकारले आँसुका कुरा बेचे भन्ने आरोप पनि लगाउँछन्। आँसु बेचेको होइन नि, जे हो त्यही लेखेको। गाउँगाउँ डुल्नुस्, उनीहरूकै कुरा सुन्नुस, उनीहरूले कस्तो खान्छन् त्यस्तै खानुस् अनि बल्ल बुझिन्छ पत्रकारले किन आँसु लेख्छ। आँसु नै आँसु छ त, गरिबी नै गरिबी छ त जबर्जस्ती हाँसेका छन्, सुख पाएका छन् भनेर त कसरी लेख्नु र ? 

फिल्डमा पठाउनु पर्यो मिडियाले

जिल्लामा बसेर रिपोर्टिङ गर्न आफ्नैखाले चुनौती नभएका होइनन्। जिल्लाकै समाचार लेख्दा प्रायःले चिनेका हुन्छन्। गाली खानु सामान्य नै हो।

उहिले  वातावरणीय परीक्षण नगरी डोजर चलाइयो भनेर समाचार लेखियो। त्यतिबेला विकासविरोधी ट्याग पनि लाग्यो। गाउँभरि डोजर त चल्यो, तर यसको प्रभाव अहिले देखिएको छ। एकै गाउँका २१ जनासम्मको पहिरोले ज्यान गएको छ। विद्यालयहरू पहिरोको उच्च जोखिममा छन्। दीर्घकालीन विकासभन्दा पनि नेताहरूले अल्पकालीन दृष्टिकोणले हेर्दा जिल्ला नै पहिरोको उच्च जोखिममा परेको छ। प्रक्रिया पुर्याएर काम भएको छ कि छैन भनेर हामीले पनि ध्यान दिन जरुरी छ। फिल्ड त झनै जान जरुरी छ। 

अर्काे, ताक्लाकोट नाका खुलाउने कि नखुलाउने नेताहरू पक्ष-विपक्ष लागेको समाचार लेखिसकेका थियौँ। ताक्लाकोटसम्मै पुगेर रिपोर्टिङ गरियो। तातोपानी नाकाभन्दा भारतको दिल्लीका लागि ४ सय किमि छोटो पर्ने रहेछ।

ऐतिहासिक नाका पनि भयो किन खुलाउनु पर्छ भनेर समाचार लेखियो। अहिले हरेक दलका नेताको चुनावी एजेण्डा ताक्लाकोट नाका बन्नुपर्छ भन्ने छ। हामी पत्रकारले सधैं नेताको भाषणमा आधारित रहेर समाचार लेख्नुपर्छ भन्ने छैन।

विज्ञको कुरा सुन्ने, पढ्ने, आवश्यकता औँल्याउँने र लेख्न पनि सकिन्छ। 

धेरैजसो जिल्लाका साथीहरूको समस्या भनेको केन्द्रीय मिडियाले गर्ने बेवास्ता हो। केन्द्रमा बस्ने सम्पादकले कुनै पनि जिल्लालाई उसको रिपोर्टरको दृष्टिकोणबाट हेरेको छ भन्ने मलाई लाग्छ। आफ्नो दृष्टिकोण फराकिलो बनाउन पनि रिपोर्टरलाई कुनाकाप्चामा पुर्याउन सम्पादकको महत्वपूर्ण भूमिका हुन्छ।

त्यसका लागि खर्चको व्यवस्थापन गरिदिने हो। म काम गरेको मिडियाले केही भरथेग त गरेको छ तर सबैको उस्तो छैन। एउटै जिल्ला भए पनि गाउँ पुग्नै ७-८ दिन पैदल हिँड्नुपर्ने हुन्छ। कति मिडियाले त्यहाँका एक दुई वटा रिपोर्टिङलाई खर्च दिएर रिपोर्टर पठाएका छन्।

सरकार मात्रै होइन, दूरदराजमा मिडिया पनि पुगेको छैन। आवाजविहीनको आवाज हो मिडिया भन्छौँ, तर दूरदराजमा बसेका नागरिकको आवाज कति आउँछ मिडियामा ? जसको बोली निरन्तर मिडियामा आइरहेको हुन्छ, ऊ बोले मात्रै समाचार हुने नत्र नहुने हो र ? त्यसकारण मिडियाले भुईंमान्छेका समाचारहरूलाई बढी प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ। 

पछिल्लो समय प्रथम पृष्ठमै भुईंमान्छेको अथवा सामाजिक मुद्दामा आधारित समाचार आउन थालेको छ। यो सुखद् हो। मिडिया हो भने सरकारलाई खबरदारी गरेर सीमान्तकृतलाई‘स्पेस’ प्रयोग गर्न दिनुपर्छ। 

आम मान्छेलाई केन्द्रमा राखौँ

जिल्लामा प्रायः अझै पनि पैदल हिँडेर रिपोर्टिङ गर्नुपर्ने देखिन्छ। पत्रकार बनिसकेपछि म किन पत्रकार बनेको हो आफूलाई सोधौँ, एकपटक होइन पटक पटक। 

अहिले धेरैजसो साथीहरू स्थानीय पालिका प्रमुखका प्रेस संयोजकसमेत भएको देखेको छु। नेताले बोलेको कुरालाई कसैले प्रश्न उठायो भने उहाँले यस्तो भन्न खोज्नुभएको हो भन्दै स्पष्टीकरण दिँदै हिँडेको देखिन्छ। यो काम होइन पत्रकारिताको।

नेताको नजिकको हुन पत्रकारिता गर्नै पर्दैन, सीधै कार्यकर्ता भए हुन्छ। यसले पत्रकारितालाई धुमिल मात्रै बनाउँछ।आवरणमा पत्रकारिता व्यवहारमा पार्टीकारिता गर्दा पेशा बदनाम मात्र हुन्छ।  

धेरैजसो साथीहरूले पत्रकारिताको नाममा दलालीकरण गरेर पत्रकारिताको हुर्मत लिएका छन्। पत्रकारिता गर्दा नेताको समाचार त लेखौँ, तर एक वर्षअघि त्यही विषयमा त्यो नेताले के भनेको थियो, एक वर्षपछि के भन्यो तुलना गरौँ।

कुन विषयवस्तु के हो, उसले कस्तो विचार राख्यो, यसले के दीर्घकालिन असर गर्छ, त्यो पनि लेखौँ। सामाजिक सञ्जालमार्फत नेताले आफ्नो भाषण जताततै पुर्याउन सक्छन् अहिले। मिडियाले फेरि नेताकै अनावश्यक कर्कश सुनाएर समयको बर्बाद किन गर्ने ? 

हामीसँग सीपै नभएका पत्रकार छन् भनेको होइन। धेरै सीप भएका पत्रकार छन् र त पत्रकारिता धानिरहेको छ। तर अधिकांश मोफसल पत्रकारितामा सीप छैन। सीप भए पनि स्रोत भएन। केन्द्रमा पनि गर्न चाहेको स्टोरी गर्न आर्थिक स्रोतले भ्याउँछजस्तो मलाई लाग्दैन। यसमा मिडिया हाउस, सम्पादकले समाचारमा लगानी गर्न हिच्किचाउन भएन। 

मलाई लाग्छ, हामी रिपोर्टरले जहिले पनि आम नागरिकलाई केन्द्रमा राखेर समाचार लेख्नुपर्छ। संविधानले दिएको मौलिक हक सबै नागरिकले पाएका छन् कि छैनन्? सीमान्तकृत समुदायको दयनीय आर्थिक पाटोसँगै पढ्दै गरेका युवाले गरेको राम्रो काम उधिन्ने हो।

सरकारमा पुगेपछि शासन गरेको रवैया देखाउने सरकारलाई खबरदारीसँगै नागरिकको आवाजलाई लेख्नैपर्छ। यो लेख्न गाउँगाउँ कुना कुन्दरामा पुग्नैपर्छ। यसको लागि मिडियाले रिपोर्टरलाई हिँडाउन होइन, दौडाउन जरुरी देख्छु म। 

उदाहरणका लागि, दुर्गममा नेपाल सरकारले ९ रुपैयाँ किलो नुन दिन्थ्यो। बझाङकै साइपाल पालिकामा २ सय रुपैयाँ किलो नुन थियो। एउटै जिल्लामा आधा भेगमा ९ रुपैयाँ र आधा भागमा २ सय रुपैयाँ कसरी ? त्यहाँका नागरिकलाई आफूहरू अन्यायमा परेका छौँ भन्ने नलाग्न पनि सक्छ, हामी पत्रकारले लेख्ने हो नि त यसलाई।

हुन त अहिलेसम्म भएका पत्रकारिता पनि मान्छेलाई केन्द्रमा राखेरै भएका छन् भन्छौँ, तर म अन्यायमा परेको छु भनेरसमेत जसले भेउ पाउँदैन, उसैको कुरा हामीले लेख्नुपर्छ। यस्ता समाचार लेख्न मिडिया हाउसले वातावरण सिर्जना गर्नुपर्छ। 

सबै पत्रकार पैसाकै लागि काम गरिरहेका छन् भन्ने होइन। कुनै पनि काम गरेपछि जीविका चलाउन पुग्ने रकम हुनु सामान्य सर्त हो। केही पत्रकार यस्ता पनि छन्, जसले ठूला ठूला अवसर पाउँदासमेत पत्रकारिताको धर्म छाडेका छैनन्, पत्रकारिता नै गरिरहेका पनि छन्। त्यसका लागि परिवारको साथ, सहयोग र आर्थिक रूपमा अलि दह्रै हुन जरुरी छ।

राम्रै आर्थिक स्थिति भएकाले समेत पत्रकारिता छाडेको देखेको छु। पत्रकारको सामाजिक सुरक्षाका लागि मिडिया हाउसले काम गर्न जरुरी छ। रिपोर्टर मोफसलमा बसेर काम गरोस् कि केन्द्रमा, उसलाई हेर्ने दृष्टिकोण सम्पादकहरूले पनि बदल्नुपर्छ। जिल्लाबाट स्टोरी गतिलो आएन भनेर च्यातेर डस्टबिनमा फाल्ने होइन, किन आएन भनेर रिपोर्टरलाई सोध्नुपर्छ। यतिमात्रै गरे जिल्लाका धेरै समाचार आउँछन् कि भन्ने लाग्छ। 

(सैपाल एफएम,साथी रैबर, उज्यालो नाइन्टी नेटवर्क, नेपाल टेलिभिजन, राजधानी दैनिक, नेपाल समाचारपत्रमा काम गरेका सिंह हाल कान्तिपुर दैनिकमा आबद्ध छन्। उनैसँग उकेराको चौथो अंगका लागि ‘मोफसल पत्रकारिताले समाउनुपर्ने बाटो’ विषयमा प्रजु पन्तले गरेको कुराकानी) 

 

चौथो अंगका पुराना श्रृंखला 

साउन २, २०८० मंगलबार १५:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।