रुपन्देहीमा कुटाकुटमै उत्रिएका पार्टीका दुई गुटलाई रास्वपाले मिलापत्र गरायो, फेरिए जिल्ला संयोजक

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा उग्ररुप लिएको आन्तरिक विवाद अन्ततः मिलापत्रबाट टुंगाइएको छ।
जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी दुई पक्षबीचको कुटाकुट हुँदै प्रहरीसम्म पुगेको थियो। आन्तरिक विवाद प्रहरीसम्म पुगेपछि रास्वपाको चर्को आलोचना समेत भएको थियो।
रास्वपाले विवाद समाधान गर्न भन्दै हालका जिल्ला संयोजकलाई पदबाट हटाएर अर्का सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।
जिल्ला संयोजक प्रकाश ज्ञवाली सरकारी शिक्षक समेत भएको विषय बाहिर आएपछि रास्वपाले प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाएको हो।
यता विवादलाई सतहमा ल्याउने सैनामैनाका दामोदर खत्रीलाई थप अनुसन्धानका लागि भन्दै रास्वपाको अनुसन्धान टिमले काठमाडौं बोलाएको छ। घटनाको सबै विवाद बाहिर खत्रीले पत्रकार सम्मेलन गरेर ल्याएका थिए।
खत्रीले आफूले पार्टीभित्र गुट हावी हुनु हुँदैन भनेर आवाज उठाउँदा उल्टै आफूमाथि कुटपिट भएको तर अहिले पार्टीले आफ्नो कुरा सुनेर जिल्ला संयोजक नै परिवर्तन गरेपछि आफ्नो जीत भएको बताए। उनले पार्टीको अनुशासन टिमले गर्ने थप अनुसन्धानमा सहयोग समेत गर्ने बताए।
रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले विवादपछि जिल्ला संयोजक परिवर्तन गरिएको र कुटपिटको विषयमा संलग्न दामोदर खत्रीलाई इलाका प्रहरीमा माफी मगाएको बताए। उनले आगामी दिनमा गल्ती नगर्ने गरी कागज गराइएको समेत बताए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले दुवै पक्षलाई राखेर सहमतिमा विवाद टुंगो लगाएको बताए।
यसै विवादमा यो पनि
साउन १, २०८० सोमबार १४:१०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।