असार मसान्तमा मर्जरमा जाँदा लक्ष्मी सनराइज बैंकका बचतकर्तालाई सास्ती, चलेन सिस्टम

असार मसान्तमा मर्जरमा जाँदा लक्ष्मी सनराइज बैंकका बचतकर्तालाई सास्ती, चलेन सिस्टम

काठमाडौं : आर्थिक वर्षको अन्तिम समयमा मर्जरमा गएको लक्ष्मी र सनराइज बैंकका ग्राहकले शुक्रबार पनि कारोबार गर्न पाएनन्।

मर्जरका लागि बुधबार र बिहीबार कारोबार बन्द गरेर शुक्रबारबाट नियमित सेवा सुरु गर्ने बताइएको थियो। तर सिस्टम नचलेको भन्दै शुक्रबार पनि कारोबार भएन।

आइतबार चालु आर्थिक वर्षको अन्तिम दिन हो। आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम समयमा मर्जर गर्दा दुवै बैंकका कारोबारी समस्यामा परेका छन्। 

बैंकले सिस्टम डाउन भएकोबारे सार्वजनिक सूचना पनि जारी गरेको छैन।

बैंकको आधिकारिक साइटमा मर्जरको समयमा बुधबार र बिहीबार कारोबार बन्द हुँदा साथ दिएको भन्दै ग्राहकलाई धन्यवाद दिँदै राखेको सूचनामा शुक्रबार र शनिबार १० बजेदेखि ३ बजेसम्म नियमित कार्यालय खुल्ने उल्लेख छ। तर शुक्रबार कारोबार हुन सकेन। 

असार मसान्तमा बैंकले सिस्टम डाउन भनेर दु:ख दिएको भन्दै सामाजिक सञ्जालमा ग्राहकले आक्रोश पोखिरहेका छन्। नवीन खतिवडाले ट्विट गरेका छन्, ‘असार मसान्तमा मर्जर र सिस्टम डाउन भनेर  यसरी दुःख दिन कसरी सकेको हो लक्ष्मी बैंकले।’

अध्यक्ष को हुने भन्ने प्रतिस्पर्धामा बैंकको मर्जर लामो समय रोकिएको थियो। बचतकर्ता र कारोबारीले पाउन सक्ने सास्ती नहेरी असार अन्तिममा मर्जरमा जान राष्ट्र बैंकले सहमति दिएको थियो।

गभर्नरको असहयोगमा हटे दुगड

गत पुसमा नै बैङ्क मर्ज हुन समझदारी भए पनि सञ्चालक समितिमा सहमति नहुँदा समय लम्बिएको थियो।

सनराइजका अध्यक्ष मोती दुगड नै लक्ष्मी बैङ्कका प्रमुख दाबेदार थिए। लक्ष्मी बैङ्क टिमले दुगडको भारतमा भएको कारोबार र विवाद चुहायो। राष्ट्र बैङ्कले यही बहाना बनाएर दुगड सञ्चालक समितिमा रहेसम्म मर्जरको अन्तिम  नदिई अड्कायो।

सनराइज समूह सञ्चालकबाट हटाउन सहमत भएपछि राष्ट्र बैङ्क सकारात्मक भयो।

अनि असार ८ गते  साधारण सभाले गाभिन स्वीकृति दियो। पूर्व योजना अनुसारै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी बैङ्कबाटै हुने सहमति भयो। अनि मर्जर टुङ्गियो। 

 

असार २९, २०८० शुक्रबार १५:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।