लक्ष्मी र सनराइजको संयुक्त कारोबार शुक्रवार, अध्यक्ष हुने दुगडको प्रयास असफल

काठमाडौँ : लामो रस्साकस्सीपछि लक्ष्मी बैङ्क र सनराइज बैङ्क बराबरी हैसियतमा गाभिएपछि वाणिज्य बैङ्कको सङ्ख्या २० मा झरेको छ। दुवै बैङ्क मर्जरमा गएसँगै असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्।
लक्ष्मी सनराइज बैङ्कको नामबाट एकीकृत कारोबार गर्न सहमत भएको बैङ्कले एकीकृत कारोबारका लागि बुधवार र बिहीबार सबै कारोबार बन्द गरेको थियो।
गत पुसमा नै बैङ्क मर्ज हुन समझदारी भए पनि सञ्चालक समितिमा सहमति नहुँदा समय लम्बिएको थियो। बल्ल असार ८ गते दुवैको साधारण सभाले गाभिन स्वीकृति दियो। सनराइज बैङ्कबाट समेत अध्यक्षमा दाबी आएको थियो।
यसले मर्जर लम्बिएपछि अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी बैङ्कबाटै हुने सहमति भयो। अनि मात्र मर्जर टुङ्गियो। लक्ष्मी बैकका अध्यक्षमा रमण नेपाल र अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन्।
सनराइज बैङ्कको अध्यक्षमा मोती दुगड थिए। समान हैसियतमा बैकबिच मर्जर भएकाले दुगडले संयुक्त बैङ्कको अध्यक्ष हुने प्रयास गरेका थिए। तर यही बेला उनले भारतमा गरेको लगानी विवाद सार्वजनिक भयो। विवादपछि उनको प्रयास सफल भएन।
सनराइजको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा थिए। एकीकृत बैङ्कको सिइओ समेत लक्ष्मीबाटै हुने सहमति भएकाले उनी बिदा भएका छन्।
असार २८, २०८० बिहीबार २१:१३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।