३९ वर्षमा नबिलको निक्षेप ३ सय ७८ अर्ब

३९ वर्षमा नबिलको निक्षेप ३ सय ७८ अर्ब

काठमाडौँ : नबिल बैङ्क लिमिटेडले ३९औँ वर्ष पूरा गरेको छ। यो बैङ्क सन् १९८४ जुलाई १२ मा स्थापना भएको थियो।

३९ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैङ्कलाई निरन्तर सर्वोत्कृष्ट बनाएकोमा बैङ्कका कर्मचारीलाई धन्यवाद दिएका थिए। ग्राहकहरूलाई आभार प्रकट गर्दै उनले ग्राहकको भरोसा राख्ने वातावरण बैङ्कले निरन्तर बनाउने प्रतिबद्धता जनाएका थिए।

कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैङ्क अब्बल हुन सकेको उनको धारणा थियो। बैङ्क स्थापनाकालदेखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकाले ग्राहकको मन जित्दै विश्वासिलो बैङ्क बन्न सफल भएको उनले बताए।

नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो। त्यस्तै सन् २०१२ मा पहिलो पटक मोबाइल बैङ्किङको सुरु गरी मोबाइलबाट बैङ्किङ सुविधा लिने प्रविधि भित्राइएको थियो।

नबिल बैङ्कले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो। सन् २०१६ मा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो।

नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैङ्कको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैङ्किङको सुरुवात गरेको थियो।

नबिल बैङ्कको कुल निक्षेप ३७८ अर्ब रुपैयाँ तथा कुल कर्जा ३४० अर्ब रुपैयाँ रहेको छ। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ। देशभर शाखा विस्तार भएर २६४ शाखा पुगेको बैङ्कले जनाएको छ। २९८ एटिएम मेसिनहरूबाट बैङ्कले सेवा प्रदान गर्दै आएको छ।

असार २८, २०८० बिहीबार २१:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।