आर्थिक अराजकता नियन्त्रण गर्न पूर्ण रुपमा लागिपरेको छु : अर्थमन्त्री महत

आर्थिक अराजकता नियन्त्रण गर्न पूर्ण रुपमा लागिपरेको छु : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्ण रुपमा लागिपरेको बताएका छन्। 

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उनले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताए।

विभिन्न स्वरूपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको उनको टिप्पणी छ। कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे।

विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताए। बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उनको भनाइ छ। 

साथै उनले बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दा खोज्दै पनि तत्काल नसकिएको बताए। उनले आम्दानी नै कम भएकाले संघीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको समेत उल्लेख गरे।

असार २८, २०८० बिहीबार १६:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।