बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन मिलेमतो गर्छन् : अर्थमन्त्री महत

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन मिलेमतो गर्छन् : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघले काठामाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता प्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए। 

उनले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको बताए।

‘ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो,’  उनले भने, ‘एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ। यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौं।’

बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतले बताए।

त्यस्तै उनले उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

असार २६, २०८० मंगलबार १७:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।