नेपालको फोटोपत्रकारिता मर्दैछ, ‘हेर्नुस् २० तस्बिर’ भनेर डेस्कबाटै फोटो राख्न थाले

नेपालको फोटोपत्रकारिता मर्दैछ, ‘हेर्नुस् २० तस्बिर’ भनेर डेस्कबाटै फोटो राख्न थाले

केही वर्षअघि कान्तिपुरमा काम गर्दा टेलिभिजनका लागि विजयकुमार दाइले (विजयकुमार पाण्डे) एक बालिकाको बुवाको अन्तर्वार्ता लिनुभयो। 

ती बालिकाको आधा अनुहारभरि रौँ थियो। उहाँले बालिकाको बुवालाई प्रश्न गर्नुभयो'तपाईंकी छोरीको यो अनुहारभरि रौँ देख्दा कस्तो महसुस हुन्छ ?' बालिकाको बुबाले 'मलाई त केही हुँदैन तर छोरी विद्यालय जाँदा सबैले बोक्सी भनिदिन्छन् ऊ पढ्न जान मान्दिन, त्यतिबेला एकदमै ठूलो पीडा हुन्छ' भन्नुभयो।

बालिका सानै थिइन्। उनी सुक्क सुक्क गरेर रोइन्। भिडियो अन्तर्वार्ता भए पनि अर्काइभ फोटो हुन्छ भनेर मलाई विजयकुमार दाइले बोलाउनुभएको थियो। ती बालिका रुँदै गरेको फोटो खिचेँ। सबै आँसु खसेको थियो। आखाँको कोषमा आँसुको एक ढिक्का भएको फोटो क्याप्चर भएछ। 

यो फोटो हेरेपछि विजय दाइले टेलिभिजनको कार्यक्रम ड्रप गरेर कान्तिपुरमा उहाँको शब्द र मैले खिचेको फोटो छापियो।

उहाँ फोटो बुझ्ने सम्पादक हुनुहुन्थ्यो। मैले काम गरेको सम्पादकमा विजय कुमार पाण्डे र नारायण वाग्लेले फोटो बुझेको पाएँ। जसले फोटो बुझ्छ, उसले माध्यम नै बदलेर स्टोरी छापेको समेत पाइयो। रिपोर्टर होस् या सम्पादक, स्टोरीअनुसार फोटो बुझ्ने क्षमता हुनैपर्छ।

फोटोपत्रकार र रिपोर्टर भनेको परिपुरक हुन्, नङ र मासुजस्तै। उनीहरू प्रतिस्पर्धी होइनन्। अहिलेको रिपोर्टर  र सम्पादकले कति फोटो बुझेका छन्, त त्यो फोटोअनुसार समाचार आएको छ कि छैन भनेर नियालेर हेरियो भने बुझि नै हालिन्छ। 

‘मुमेन्ट क्याप्चर’मा चुक्नु हुन्न फोटोपत्रकार

२०५२ सालदेखि मैले फोटो पत्रकारिता सुरु गरेको। कामना पब्लिकेसनमा ४ वर्ष काम गरेपछि कान्तिपुर मिडिया ग्रुपमा १५ वर्ष बिताएँ। त्यसपछि विदेशी मिडियामा काम गरिरहेको छु। 

त्यतिबेला अहिलेजस्तो डिजिटल क्यामेरा आइसकेको थिएन। फोटो खिच्न जाने, निगेटिभ निकाल्ने, फोटो धुल्याउने र सम्पादकलाई बुझाएर हिँड्नुपर्दथ्यो। क्याप्सन फोटो पछाडि लेखिन्थ्यो। जब सम्पादकको हातमा फोटो पर्थ्यो, र पहिलो पृष्ठ भनेपछि ‘मिसन’ पूरा भएको जस्तो हुन्थ्यो।

करियरको सुरुवातमा निकै कष्ट हुन्छ, तर करियरको क्रिम बेला हुन्छ त्यो। मैले सुरुवाती चरणमा जसरी सिक्न पाएँ अहिले पैसा तिरेर पनि त्यसरी सिक्न पाउँदिनँ। कान्तिपुर आएपछि फोटो बुझ्ने नै सम्पादक पाएँ।

प्रत्येक फोटोको छलफल गर्ने। यसरी सम्पादकले आफ्नो प्रत्येक फोटोको छलफल गर्ने भएपछि काम गर्न उत्साहित पनि भइने। त्यो बेलाको स्कुलिङले मलाई निकै राम्रो काम गर्यो। जब सम्पादकले आफ्नो फोटो बुझ्छन्, काम गर्नुको मज्जा त हुन्छ नै, दायित्व पनि थपिएको महसुस हुन्छ। 

फोटो पत्रकारको विशेष गुण भनेको ‘मुमेन्ट क्याप्चर’ गर्न सक्नु हो। फोटोपत्रकार यसमा चुक्नुहुन्न।

राजा वीरेन्द्र र रानी ऐश्वर्य पैदल हिँडेर ठमेल आउनुभएको थियो। त्यतिबेला मैले त्यो मुमेन्ट क्यापचर गरेँ। त्यसपछि पनि धेरै फोटो खिचियो। तर त्यही फोटो मेरो करियरको उच्चतम बिन्दु भइदियो। धेरैले त्यही फोटोले चिन्ने हुनुभयो। फोटो पत्रकारले ‘मुमेन्ट क्याप्चर’ गर्न सक्यो भने कुन बेला कुन फोटोको कस्तो ‘रेस्पोन्स’ आउँछ भन्ने कल्पना पनि गर्न सकिँदैन। त्यसैले जसको फोटो खिच्नुस् मुमेन्ट क्याप्चरमा केन्द्रित हुने हो। 

कतिपय मुमेन्ट क्याप्चर भएका कुराहरू पहिले यसै छाप्न पाइँदैनथ्यो। भिक्टोरिया क्रस पाउने नेपालीलाई राजा वीरेन्द्रसँग दर्शनभेट थियो। त्यतिबेला राजासँग नेपालीले हात मिलाउने (ह्याण्डसेक) गर्ने चलन थिएन। तर भिक्टोरिया क्रस पाउनेले राजासँग हात मिलाए। हामीले फोटो खिच्यौँ। फोटो त खिच्यौँ तर त्यो फोटो नछाप्न आदेश आएछ। त्यो फोटो निगेटिभ बन्दै थियो, त्यतिकै छोडियो। अहिले त्यो फोटो छैन। मुमेन्ट क्याप्चर गरेका कतिपय फोटो साथमा नहुँदा भने त्यो ‘मिस’ हुने रहेछ। 

जागिर खाने कि प्रोफेसनल बन्ने ? 

अहिले धेरैजसो इभेन्टमा गएको बेला फोटो पत्रकारले झ्यापझ्याप फोटो खिच्ने अनि मोबाइलमा सारेर अफिसमा पठाइहालेको देखिन्छ। यसरी त कसरी गुणस्तर विकास हुन्छ र ? अनि ऊ अफिस पुग्दा नपुग्दै हेर्नुस् फलानो कार्यक्रमको २० तस्बिर भन्यो, हाल्यो। फोटो स्टोरी भनेकै हेर्नुस् २० तस्बिर भएको छ। यो भन्दा मजाक के हुन्छ फोटो पत्रकारिताको ?

ढिलो नै आओस्, २० वटा फोटोभन्दा एउटै आओस्। तर त्यो फोटोले स्टोरी बोलोस् न अनि पो फोटोपत्रकारको गुणस्तर झल्कन्छ त। पछिल्लो समयमा हाम्रोमा फोटो पत्रकारको गुणस्तर नै झल्किन पाएको छैन।

केही फोटो पत्रकारले खिचेको एंगल हेर्छु, सबै ठीक हुन्छ तर स्टोरी दिन सकिरहेको हुँदैन। अधिकांश सम्पादकले फोटो नै बुझ्दैनन्। न्युज रुमदेखि बाहिर कतै पनि फोटो स्टोरीबारे पढाइ नै नहुने। यसरी त कसरी होस् त ? त्यसैले त भन्दैछु हाम्रो फोटोपत्रकारिता मर्दैछ। 

हामी फोटोपत्रकारले पनि डे टु डे फोटो खिचेर जागिर खाएर समय सिध्याउने कि प्रोफेसनलिज्ममा जाने हो ? त्यो प्रमुख हो। ‘डे टु डे’ फोटो खिचेर प्रोफेसनालिज्ममा जाने फोटोपत्रकार एकदमै कम हुन्छन्। किनभने प्रोफेसनलिज्ममा जान निकै धेरै धैर्यता पनि गर्नुपर्छ। जब पुगिन्छ तब ‘डिभोसन’ (भक्ति भावमा) गएर फोटा खिचिन्छ। जब डिभोसनमा पुगिन्छ तब आफ्नो पेशा सोच्दा भावुक भइन्छ। फोटोमा महसुस गर्न थालिन्छ। जब फोटो खिच्न कुनै इभेन्टमा गइन्छ, आफूले सोचेअनुरूपको फ्रेम पनि भेटिन्छ।

मैले विदेशी मिडियामा काम गर्दा संगत गरेको फोटोपत्रकारहरू अधिकांश डिभोसनको फेजमा पुगेका हुन्छन्। नेपाली मिडियामा काम गरेको र अहिले पनि नजिकबाट नियाँलेका कारण भन्छु- नेपाली फोटोपत्रकारले डिभोसनको फेजमा पुग्ने गरी काम गर्न अधिकांशले सकेनौँ। 

कसैले राम्रो फोटो खिच्यो भने त्यसलाई ‘अप्रिसिएट’ गर्नुको साटो कहाँ खिचेको भनेर सोधेर हत्तु लगाएर अर्काे दिन आफू त्यही स्थानमा त्यही खिच्ने गरेको देखियो। यो प्रोफेसनालिजम समेत होइन। झन् डिभोसनको फेज त हुने कुरै भएन। मेरो लागि फोटो खिच्नु पूजा गर्नुजस्तै हो। जब कामलाई जागिरभन्दा, प्यासनभन्दा बढी डिभोसनको रूपमा हेरिन्छ, कामलाई पूजा गर्न थालिन्छ। त्यसैले नवपुस्तामा यो प्रकारको धैर्यता हुन जरुरी छ। 

विदेशी मिडियाले हाम्रोबाट खोज्ने भनेको समयअनुसार परिवर्तन हो। पहिले तिब्बती शरणार्थीबारे थियो। माओवादी युद्धकाबारे पनि थियो। त्यस्तै भूकम्प गएको बेला खोजेको देखियो। संसारकै उच्च शिखर सगरमाथा भएका कारण सगरमाथाबारे, प्लेन दुर्घटनाबारे, ताल फुटेको, यहाँको संस्कृतिबारे समाचार तथा फोटो खोजेको देखिन्छ। 

नेपाली मिडियामा अहिले ललिता निवासको जति चासो छ, त्योभन्दा बढी विदेशी मिडियालाई नेपालमा समलिंगी विवाहका लागि अदालतबाट आएको आदेशप्रति चासो छ।  

फोटोपत्रकार र रिपोर्टरको दूरी धेरै भयो

सशस्त्र संर्घषताका रिपोर्टरहरू माओवादीका शिविर जान्थे। तर फोटो पत्रकारहरू उनीहरू गएकै थाहा पाउँदैनथे। हामीले फोटो खिच्न हामीलाई पनि लैजानु न  भन्दा उनीहरू मान्दैनथे। एक प्रकारको ग्याप छ रिपोर्टर र फोटो पत्रकारमा।

अहिले पनि त्यो ग्याप ठ्याक्कै देखिन्छ। एक त हामी फोटो पत्रकारले पनि सल्लाह नै नगर्ने, अर्काेतर्फ रिपोर्टरले भन्दा पनि नभन्ने। रिपोर्टरले कुनै स्टोरी गर्न लागेको छ भने त कस्तो स्टोरी गर्न लागेको हो, रिपोर्टरको एंगल के हो, रिपोर्टरसँग बुझ्ने त फोटोपत्रकारले हो नि। रिपोर्टरले पनि नसोधी किन भनोस् ? फोटो पत्रकारले पनि किन सोध्छु भनेर ‘एटिट्युड’ राख्न भएन।

एउटा फोटो पत्रकारका १० जना साथीहरू छन् भने ७ जना उसको रिपोर्टर साथी हुन जरुरी छ। फोटो पत्रकारको हुलमा मात्रै बसेर फोटो खिच्न गाह्रो पर्छ। जो फोटो पत्रकार रिपोर्टरसँग बस्छ, उसको सोच्ने शैली फोटोमा अरूको भन्दा फरक हुन्छ। दुई सल्लाह गरेर ज्वाइन्ट बाइलाइन आउनुको मज्जा कति हुन्छ त्यो रिपोर्टर फोटोपत्रकारले बुझ्नुपर्यो नि। 

रिपोर्टरले पनि फोटो पत्रकारलाई सहयोग गर्नुपर्ने हुन्छ। प्रधानसम्पादकलाई यो फोटो आफ्नो स्टोरीमा किन जान जरुरी छ भनेर ‘कन्भिन्स’ गराउन सक्नुपर्छ। जुन रिपोर्टरले आफ्नो स्टोरीमा कस्तो फोटो र भिडियो चाहिन्छ भनेर बुझ्छ, ऊ पनि अन्य रिपोर्टरभन्दा फरक हुन्छ नै। 

फोटो पत्रकार भनेको आधा रिपोर्टर पनि हो। क्यामेरा त टुल्स हो, रिपोर्टरको बुद्धिसमेत आफूमा राखेर क्यामेराको टुल्स प्रयोग गरेर फोटो खिच्ने कला फोटोपत्रकारको हो। यति कला भएन भने त फोटोग्राफर भइहालियो नि। फोटोपत्रकार फोटोग्राफरजस्तो हुने त होइन नि हैन ? 

पहिले म काम गरेको समाचार कक्षमा फोटोबारे छलफल हुन्थ्यो। सम्पादकले प्रत्येक फोटोअघि राखेर रिपोर्टरको धारणा बुझ्थे मिटिङमा। जसले गर्दा रिपोर्टरलाई पनि फोटो हेर्नैपर्ने बाध्यता र आफ्नो समाचारमा फोटो किन आवश्यक छ बुझ्थ्यो।

अहिले कति न्युज रुममा फोटोबारे छलफल हुन्छ ? ह्वारह्वार हेर्नुस् रोपाइँं भएको २० तस्बिर भन्यो, हेर्नुस् राष्ट्रपतिको शपथको २० तस्बिर भन्यो सकियो। फोटोपत्रकारले खिचेको फोटोको सम्पादन हुनुपर्दैन? कति न्युज रुममा छन् फोटो सम्पादक ?

फोटो सम्पादकको काम फोटोपत्रकार, डेस्क र प्रधानसम्पादकबीच समन्वय गर्ने हो, त्यो देखिएन हाम्रो मिडियामा। मै काम गरेको विदेशी मिडियामा दुई सिफ्ट काम गर्ने फोटो सम्पादक छन्। मैले विदेशी र यहाँको तुलना गरेको त होइन, तर कम्तीमा १ जना त राख्नु पर्यो नि।

फोटो सम्पादक पनि नराख्ने, उल्टो एउटै फोटो पत्रकारलाई फोटो र भिडियो दुवै एकै कार्यक्रममा खिच्न पनि अह्राउने। योभन्दा अनप्रोफेसनल काम के हुन्छ ? मैले अघि पनि भनेँ, फोटो पत्रकारले मुमेन्ट मिस गर्नु हुँदैन।

जसरी रिपोर्टरले लेख्ने बेला कुन एंगलमा लेख्ने भनेर सोचिरहेको हुन्छ, त्यसरी नै फोटोपत्रकारले पनि कसरी खिच्ने भनेर सोचिरहेको हुन्छ। त्यतिबेलै भिडियो पनि खिच्नुपर्यो भने एउटा दिमागले कता कता सोच्नु ?फोटोपत्रकारले फोटो र भिडियो दुवै खिच्न त सक्छ तर एक पटकमा एउटा मात्रै। एउटा इभेन्टको एउटा मात्रै असाइन लगाउनुपर्छ। 

अर्काे प्रमुख समस्या भनेको, ग्याजेट नै नदिने। वर्षको ४-५ लाख तलब हुँदैन। त्यति नै बराबरको क्यामेरा किन्नुपर्यो भने घर खर्च कसरी चलाओस् ? मिडिया हाउसले एक सेट ग्याजेट किन्न सक्दैन ? 

त्यस्तै रिपोर्टरलाई जति पढ्ने ठाउँ छ फोटोपत्रकारलाई तालिमको लागि विशेष व्यवस्था छैन। ट्रमाटाइज भएको बेला कसरी ह्याण्डिल गर्ने न त रिपोर्टरलाई ठाउँ छ, न त फोटोपत्रकारलाई यसबारे हाम्रो नेपाली मिडियामा सोचेको देखिँदैन। 

ट्रमाटाइजबारे छलफलै भएन

भूकम्प गएको बेला फोटो खिचियो। युनिसेफमा आधारित भएर पनि धेरै फोटो यिनै खिचियो। मलाई त ट्रमाटाइज भएछ। यसबारे मैले बंगालादेशी साथीलाई भने। उनले मलाई कोलम्बिया युनिर्भसीटीमा ट्रमाटाइजबारे हुने कक्षा लिन आवेदन दिन भने।

मैले दिएँ पनि विश्वभरिबाट १२ जना छानिए। १५ दिनको कक्षाका लागि म पनि परेँ। त्यो कक्षा लिएपछि थाहा भयो मलाई के के भइरहेको छ भनेर। सायद त्यो बेला त्यो कक्षा नलिएको भए आज पनि भूकम्पका बेलाको असर ममा परिरहेको हुन्थ्यो। 

हामीले द्वन्द्वका बेला बीभत्स दृश्य खिच्यौँ। फेरि भूकम्प आयो, उस्तै दृश्य, कोरोना भयो उस्तै दृश्य। यस्तो बेला रिपोर्टर होस् या फोटो पत्रकार, बीभत्स दृश्य देखेको बेला ट्रमाटाइज हुन्छ। यो बेला काउन्सिलिङ हुनुपर्छ। मिाडियाकै गहिरो अध्ययन नभइरहेका बेला पत्रकारलाई पर्ने प्रभावबारे मिडिया हाउसले सोच्दै सोचेको देखिएन। 

मिडिया हाउसले त सोचेन नै, अन्य संस्थाहरू, अनुसन्धान केन्द्रहरू हुनुपर्ने हो तर यसबारे बहस छलफलै भएन। 

धेरैजसो फोटोपत्रकारहरू आर्थिक मन्दीको मारमा परेका छन्। उनीहरूको जागिर संकटमा छन्। मिडिया हाउसले लगानी गरेका जनशक्ति बाहिरनु भनेको मिडिया हाउसलाई पनि घाटा हो। मिडिया हाउसले आफ्नो जनशक्ति टिकाउन त सक्नुपर्थ्यो। 

प्यासन छैन, टिक्न गाह्रो 

फोटो पत्रकारितामा समस्या छन्। तर अवस्था बिग्रिहालेको छैन। नयाँ नयाँ प्रविधि आएको छ, सहज भएको छ फोटो खिच्न। योसँगै चुनौती पनि थपिएको छ। सबैको हातहातमा क्यामेरा छ, अरूले भन्दा फरक तरिकाले फोटो खिच्ने खुबी फोटोपत्रकारमा हुन जरुरी छ। समग्र पत्रकारिता नै प्यासन हो। प्यासन छैन भने यो पेसामा टिक्न गाह्रो छ। 

हामी फोटो पत्रकारमा अध्ययनको कमी छ। आफू किन फोटोपत्रकारिता गर्दैछु यसमा प्रस्ट हुुनुपर्छ यहाँ आउन चाहनेले। बरु सकिन्छ भने एउटा मिडिया हाउसमा कम्तीमा ५ वर्ष टिक्ने। टिक्नै नसकिने छ भने त ठीकै छ। विदेशतिर पत्रकारलाई एक महिना छुट्टी दिन्छ। कारण न्युजबाहेक अरू जेसुकै गरोस्, जसले अर्काे ११ महिना ऊर्जावान् भएर काम गर्न सकोस्।

हाम्रोमा त छुट्टीको परको कुरा, दशैंमा पनि फोटो नै खिचेर हाल्न हतार भइसकेको हुन्छ। मिडिया फेरिने बेला भएको छ, पत्रकारहरू डिभोसनमा गएर काम गर्नुपर्ने बेला आएको छ। यति गर्न सके प्रेस स्वतन्त्रता र लोकतन्त्रको लागि गरेको हाम्रो कामको अर्थ हुन्छ।

(नेपाल समाचारपत्र,कान्तिपुर दैनिक र हाल युरोपियन प्रेस फोटो एजेन्सीमा गरिरहेका श्रेष्ठसँग ‘नेपाली फोटोपत्रकारिताको सबल र दुर्बल पक्ष, विदेशी मिडियाको काम गर्ने शैली’बारे उकेराको चौँथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला 

असार २६, २०८० मंगलबार १५:४६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।