३२ प्रतिशतले घट्यो भारतमा हुने निर्यात, चीन तथा अन्य मुलुकमा भने बढ्यो

३२ प्रतिशतले घट्यो भारतमा हुने निर्यात, चीन तथा अन्य मुलुकमा भने बढ्यो

काठमाडौं : आर्थिक वर्ष २०७९/८० को पछिल्लो ११ महिनामा वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

मुद्रास्फीति ६.८३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। बैंकका अनुसार २०८० जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको हो। अघिल्लो वर्षको यही अवधिमा मुद्रास्फीतिको दर ८.५६ थियो।

११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ र गैरखाद्य सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको बैंकले जारी गरेको विवरणमा उल्लेख छ।

यसैगरी ११ महिनाको अवधिमा वस्तु निर्यात २२.७ प्रतिशतले घटेर एक सय ४३ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५३.३ प्रतिशतले वृद्धि भएको थियो।

भारतमा हुने निर्यात ३२.२ प्रतिशतले घटेको छ। तर चीन तथा अन्य मुलुकमा हुने निर्यात क्रमशः १०६.७ र ९.९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

गत ११ महिनाको अवधिमा अलैंची, उनी गलैंचा, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको देखिन्छ। सोयाविन तेल, पिना, लत्ताकपडा, सुन, चाँदीका सामान र गरगहना लगायतको निर्यात घटेको छ।

असार २५, २०८० सोमबार १७:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।