सरकारले नै घोषणा गरेको पुरस्कार पाउन पनि क्रिकेट खेलाडीले १६ महिना कुर्नुपर्यो

कास्की : २०७८ चैतमा आयोजना भएको यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार १६ महिनापछि मात्र पाएका छन्।
प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीलाई प्रदेश सरकारले दिने भनेको जनही ५० हजार रुपैयाँ पुरस्कार पाउन १६ महिना कुर्नुपर्यो।
कैलालीको धनगढीमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो।
उपाधि जितेको भोलिपल्टै सरकारले विजेता खेलाडीलाई अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो। तर खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन्।
जुन पुरस्कार शुक्रबार खेलाडीहरूले प्राप्त गरेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीले शुक्रबार च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनालाई जनही नगद रु ५० हजारका दरले पुरस्कार हस्तान्तरण गरेको छ।
तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार रकमका लागि फाइल अघि बढ्न नसकेको भन्दै खेलाडी नगद पुरस्कार पाउन वञ्चित भएका थिए। नयाँ सरकार गठनसँगै पुरस्कार बापतको रकम निकासाका लागि प्रक्रिया अघि बढाइएको थियो।
गण्डकी प्रदेश क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघ तथा खेलाडीले घोषित पुरस्कारका लागि निरन्तर सरकारसँग माग गर्दै आएका थिए।
असार २३, २०८० शनिबार १२:३६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।