खुकुलो मौद्रिक नीति ल्याउन उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको आग्रह

खुकुलो मौद्रिक नीति ल्याउन उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैङ्कको नेतृत्वलाई आग्रह गरेका छन्। बिहीबार उनले कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको भन्दै खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताएका थिए।

मौद्रिक नीतिबारे राष्ट्र बैङ्कलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ढकालले आर्थिक गतिविधि सुस्त हुँदा बैङ्कहरूको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको बताएका थिए।

यसलाई सम्बोधन गर्न बैङ्क वित्तीय संस्था र ऋणी दुवै जबाफदेही हुने नीति अवलम्बन गर्न राष्ट्र बैकको नेतृत्वलाई आग्रह गरे।

उनले कार्यक्रममा मुद्दती र बचतको फरक ब्याजदरको सीमालाई परिमार्जन गर्न, विद्यमान अवस्था अनुसार बचत र मुद्दती निक्षेपमा ५ प्रतिशतको फरक बनाउन सुझाव दिएका थिए। यसका कारण मुद्दती बचतमा सर्वसाधारण आकर्षित भएको र बैङ्कहरूको लागत बढाएको उनको तर्क थियो।

लागत वृद्धिलाई कारण बैङ्कहरूको सस्तो कर्जा उपलब्ध गराउन नसकेको भन्दै उनले ब्याजदर माथिल्लो तहमा भएको भन्दै तरलता हुँदा हुँदै पनि कर्जाको माग आउन नसकेको बताएका थिए।

सुझाव सुनेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले समग्र आर्थिक स्थायित्वको म्यान्डेड भन्दा बाहिर गएर मौद्रिक नीति नबनाउने बताएका थिए। 

असार २१, २०८० बिहीबार २१:२९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।