घोराही सिमेन्टको सेयर आवेदनमा देखिएको फर्जी काममा एनआइसी बैङ्क जोडियो, फर्जी आवेदनबारे अनुसन्धानको जिम्मा प्रहरीलाई

घोराही सिमेन्टको सेयर आवेदनमा देखिएको फर्जी काममा एनआइसी बैङ्क जोडियो, फर्जी आवेदनबारे अनुसन्धानको जिम्मा प्रहरीलाई

काठमाडौँ : घोराही सिमेन्टको प्राथमिक शेयर निष्कासन (आइपिओ)मा देखिएको फर्जी आवेदनमा एनआईसी एसिया ब्याङ्क समेत तानिएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ग्राहकको ब्याङ्क खातामा पर्याप्त रकम नहुँदानहुँदै अस्वाभाविक परिमाणमा शेयर किन्न दिएको आवेदन स्वीकृत गरेको उल्लेख गरेको हो।

बोर्डले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा ‘आस्वा सदस्य एनआईसी एसिया ब्याङ्कले आवेदनको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदानहुँदै के कसरी आवेदन स्वीकृत भएको हो भन्ने विषयमा छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने उल्लेख गरेको छ।

 घोराही सिमेन्टमा एक करोड २० लाख कित्ता फर्जी आवेदन परेको र एकै व्यक्तिले १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिएको खुलेपछि लगानी बोर्डले हस्तक्षेप गरेको थियो।

 हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्टको संयुक्त निष्कासन तथा विक्री प्रबन्धक भएर घोराही सिमेन्टले सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि असार ४ गतेसम्म मिति राखेर सेयर निष्कासन गरेको थियो।

शेयर निष्कासनमा अनियमितता भएको शंकामा बोर्डले असार ४ गते सेयर निष्कासन प्रक्रिया स्थगित गराएको थियो।

सो विषयमा जाँचबुझ गर्न समिति नै गठन भएको थियो। समितिको प्रतिवेदनमा केही लगानीकर्ताले बैङ्क खातामा पर्याप्त मौज्दात नभए पनि लगानीकर्तालाई भ्रममा पार्न ठुलो कित्तामा शेयर किन्न आवेदन दिएर सर्वसाधारणलाई भ्रमित पार्ने काम गरेको भन्दै यसबारे अनुसन्धान गर्न प्रहरीमा लेखी पठाउने उल्लेख गरेको छ।

निष्कासन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समयावधि थप गर्न सूचना प्रकाशित गरेको भन्दै यसबारे समेत छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ।

सेयरमा आवेदन गरेका सर्वसाधारणको तीन अर्ब ६१ करोड रकम होल्ड भएको भन्दै बोर्डले छानबिन पनि अगाडि बढाउने तर सेयर निष्कासन पनि नरोक्ने भन्दै शेयर निष्कासन भने खुल्ला गर्ने निर्णय गर्यो।

त्यसमा तीन दिनको समय दिएर सेयर आवेदन फिर्ता लिने वा मागमा थपघट गर्ने सुविधा थपेको छ।

सो अनुसार केही बैङ्कले सूचना समेत निकालिसकेको छ।

असार २१, २०८० बिहीबार १९:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।