राजश्व उठाउन कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा. महतकाे निर्देशन

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।
बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। याे वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर काम गर्नुपर्छ।’
सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री डा. महतले कर्तव्यबाट पन्छिने छुट कसैलाई नभएको बताए।
अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने भएको भन्दै उनले राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्नका लागि राजस्वको महत्त्वपूर्ण हिस्सा रहेकाले बढाउनुपर्नेमा जोड दिए।
राजस्वको दायरा बढाउन अर्थतन्त्रले गति लिनुपर्ने भन्दै मन्त्री डा. महतले त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको बताए।
सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने धारणा राख्दै उनले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी गर्न राज्यले शुरू गरिसकेको बताए।
असार २०, २०८० बुधबार १८:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।