अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको बताएका छन्। मंगलबार संसदको अर्थ समिति बैठकमा बोल्दै महतले अर्थतन्त्र सकारात्मक बाटोमा लागे पनि समस्यामुक्त भने भइनसकेको बताए।
‘कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ,’ उनले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं। यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा धेरै पछाडि छौं।’
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री महतले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका काम धेरै भएकाले असन्तुष्टि आउनु स्वाभाविक भएको बताए।
‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ। केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं। समस्या न्यून गरियो भने हामी विकास र सम्बृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं,’ उनले भने।
साथै महतले राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति भएको उल्लेख गरे।
‘राजस्व संकलन संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भने भएको छ। हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी राजस्व उठाउन सक्छौं,’ उनले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भने जति चलायमान भएन।’
मन्त्री महतले आउँदो वर्ष भने देशको अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको बताए। ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमा भित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं,’ उनले भने।
क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च गरेको उहाँको भनाइ छ। ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिक लगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं। यसबाट हामी पछाडि फर्किन सक्दैनौं,’ उनले भने।
‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्छौं। जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन। यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं,’ उनले थपे।
असार १९, २०८० मंगलबार १४:३१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।