एनएमबी बैङ्कको किसान लक्षित अनलाइन कर्जा योजना, मोबाइलबाटै पाँचै मिनेटमा बिना धितो कर्जा पाइने
काठमाडौँ : एनएनबि बैङ्क लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जा सुरु भएको छ।
यस कर्जामार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जानकारी दिएको छ।
वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन् भनेर पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा पहिलो पटक सुरु गरिएको बैङ्कले जानकारी दिएको छ।
किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्ने छन्। बैङ्कका अनुसार यो कर्जा लिन अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेस गर्नुपर्ने झन्झट बेहोर्नु नपर्ने बैङ्कले जानकारी दिएको छ।
बैङ्कका अनुसार यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङ्कन गरेर स्वीकृति गरिनेछ।
ग्राहकहरूले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्ने र कर्जा चुक्ता गरिसकेपछि फेरी अर्को कर्जा तुरुन्तै पाउन सकिने बैङ्कले जानकारी दिएको छ।
यसरी पाउन सकिन्छ कृषि कर्जा
एनएमबि खेती कर्जा पाउन ग्राहकहरूले एनएमबि बैङ्कमा खाता खोल्नुपर्छ। मोबाइलमा खेती एप डाउनलोड गरेर एपमा भएका फिचरहरूको प्रयोगमार्फत ग्राहक पहिचान विवरण भर्नु पर्छ।
कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार, रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ।
देशले कृषिको व्यवसायीकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिन्छ।
एनएमबि बैङ्कको देशभरि २ सय १ शाखा, १ सय ३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू छन्।
असार १६, २०८० शनिबार १४:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।