दुई अर्ब लगानीमा प्राइम टायल उद्योग स्थापना, एक चौथाइ आयात रोकिने

काठमाडौँ : प्राइम सेरामिक्स् प्रालीले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम टाइल्स् विथ स्टाइल बजारमा ल्याएको छ।
भुईँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठुलो टायल कम्पनी हो।
प्राइम सेरामिक्स् प्रालीले रौतहटस्थित वृन्दावन नगरपालिका–६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधीद्धारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ।
विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी sacmi को सम्पूर्ण मेसिन प्रयोग गरेको कम्पनीले जनाएको छ।
नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेको छ। चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आयातित टायल महँगो हुने गरेको छ।
उद्योगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्ने उल्लेख छ। आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको सृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ।
दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्धारा प्रवर्द्धित प्राइम सेरामिक्स् प्रालीको कुल लगानी दुई अर्ब रुपैयाँ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ।
असार १६, २०८० शनिबार ०६:३९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।