भुटानी प्रकरण : रायमाझी र खाँण राखिएको ठाउँबाट भण्डारी र दुलाललाई सारियो

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगीसहित चार अपराध गरेको अभियोग लागेका मुख्य दुई अभियुक्त सानु भण्डारी र केशव दुलाललाई जेल सरुवा गरिएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पुगेका १६ मध्ये मुख्य बिचौलियाको अभियोग लागेका दुई जनालाई सुरक्षा चुनौती भन्दै कारागार सारिएको हो।
१६ जनालाई केन्द्रीय कारगारमा लगेर छुट्टाछुट्टै ब्लकमा राखिएको थियो। सानु र केशव राखिएको भद्र बन्दीगृहमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, गिरोहका सदस्य गोविन्द चौधरी र रामशरण केसी, नेपाल हज समितिका अध्यक्ष सम्सेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र रायमाझीका छोरा सन्दीपलाई राखिएको थियो।
सानु र केशव यो प्रकरणमा मुख्य बिचौलिया मात्र हैनन्, मुख्य बयानकर्ता पनि हुन्। उनीहरूले नै गिरोहमा कसको के भूमिका भनेर पोलेका थिए।
मुख्य अभियुक्त र उनीहरूको संलग्नताबारे बयान दिने एकै ब्लकमा राख्दा यी दुईको सुरक्षा जोखिम बढेको कारागार प्रशासनको रिपोर्टका आधारमा कारागार व्यवस्था विभागले मंगलबार दुवैलाई नक्खु कारागारमा सारेको हो।
यी दुवै अभियुक्तबाट बरामद प्रमाण र बयानका आधारमा उच्चपदस्थहरू पोलिएका थिए। उनीहरू सबै एकै ब्लकमा रहँदा यी दुवै असुरक्षित देखिएका विभागले बताएको छ।
'आवेगमा उनीहरूमाथि आक्रमण हुनसक्ने सुरक्षा जोखिम देखियो,' कारागार स्रोतले भनेको छ। कारागारस्रोतका अनुसार उनीहरूले समेत जेल सार्न कारागार प्रशासनसँग आग्रह गरेका थिए।
उनीहरूको आग्रह र सुरक्षा विश्लेषण विभागमा पठाएपछि विभागले गृह मन्त्रालयसँग परामर्श गरेर दुवैलाई नक्खु सारेको हो।
असार १५, २०८० शुक्रबार ०९:५६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।