आगन्तुक सहकारीका अध्यक्ष घर्तीविरुद्ध प्रहरीमा १०९ जनाको उजुरी, २ करोड बचत फिर्ता गर्न माग

बुटवल : सहकारीको रकम उपचलन गरेको आरोपमा पक्राउ परेका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा १०९ जनाको उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार ९२ जनाको उजुरी परेपछि उनलाई सोही दिन पक्राउ गरिएको थियो। उनी पक्राउ परेपछि बुधबार थप १७ जनाले घर्तीविरुद्ध उजुरी दिएका हुन्।
भैरहवाका ९२ जना बचतकर्ताको ५४ लाख र बुटवलका १७ जना बचतकर्ताको मात्रै १ करोड ५८ लाख ९४ हजार ९६९ रुपैयाँ गरी २ करोड १२ लाख ९४ हजार ६९६ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले घर्तीलाई सुरूमा सोधपुछका लागि बाेलाएको थियो। तर, इन्कार गरेपछि उनकै साथीमार्फत घर्तीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।
अध्यक्ष घर्तीले सहकारी समस्याग्रस्तमै रहेको अवस्थामा ९ वटा सहकारी एकै पटक मर्ज गर्ने योजना समेत अगाडि बढाएका थिए। तर, पछि सहकारी मर्ज भने भएन।
बुटवल अमरपथमा रहेको सहकारी पछिल्लो ८ महिना देखि बन्द छ।
असार १४, २०८० बिहीबार २०:४४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।