सडकमा बनाएको घण्टी चिन्ह मेट्न समर्थकलाई रास्वपाको आग्रह

सडकमा बनाएको घण्टी चिन्ह मेट्न समर्थकलाई रास्वपाको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भरतपुरको सडकमा बनाइएको घण्टी चिन्ह मेट्न पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरूसँग आग्रह गरेको छ।

बुधबार प्रेस विज्ञप्ति निकालेर महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले यस्तो आग्रह गरेका हुन्।

भरतपुर महानगरपालिकाले सडकमा घण्टी चिन्ह बनाएपछि महानगरपालिकाले सार्वजनिक सूचना निकालेर त्यसलाई हटाउन आग्रह गरेको थियो।

पार्टीले यसप्रति क्षमा माग्दै राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीप्रतिको लगाव वा अन्य कुनै पनि बहानामा पार्टीको चुनाव चिन्ह वा पार्टीको पहिचानसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक सम्पदाहरुको दुरुपयोग गरेर बनाउने कार्य नगर्न नगराउनुहुन तथा गरिएको भएमा साविकै अवस्थामा ल्याइदिनु हुन पार्टीको देशैभरका सदस्य, समर्थक तथा शुभेच्छुकहरुमा हार्दिक अनुरोध छ।’

अतिराजनीतिकरण र दलतन्त्रले जर्जर भएको अवस्थामा पुनः पुरानै ढाँचाका त्यस्ता गतिविधिहरू नगरी सार्वजनिक सम्पत्तिको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय निकायको कार्यमा रचनात्मक सहयोग गर्नसमेत सबैमा अनुरोध गरेको छ।

असार १३, २०८० बुधबार १९:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।